नेपाल राष्ट्र बैंकले गत अार्थिक बर्षको मौद्रिक नीतिमा बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्युनतम २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। यस अन्तर्गत कृषि क्षेत्रमा १० प्रतिशत अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था छ।
यो व्यवस्था अन्तर्गत २०७५ जेठ मसान्तसम्ममा प्राथमिकताप्राप्त क्षेत्रमा ४८८ अर्ब ६८ करोड कर्जा प्रवाह भएको छ। यो रकम २०७५ जेठ मसान्तमा बैंकहरुको लगानीमा रहेको कुल कर्जाको २३.६ प्रतिशत हो।
कृषि क्षेत्रको बिकास तथा बिस्तारका लागि बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये कृषि क्षेत्रमा अनिवार्य रुपमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने हुन्छ। यहि व्यवस्थालाई साथ दिंदै कृषि बिकास बैंकले कृषि क्षेत्रमा प्रत्येक बर्ष लगानी बढाउदै लगेको छ।
बैंकले अघिल्लो आर्थिक बर्षको तुलनमा गत बर्ष कृषि क्षेत्रमा ३ प्रतिशतले लगानी बढाएको छ। अघिल्लो आर्थिक बर्ष ३० प्रतिशतको हाराहारीमा कृषि क्षेत्रमा लगानी गरेको बैंकले कृषि क्षेत्रमा गत आर्थिक बर्षको फागुन मसान्तसम्म कुल कर्जाको ३३ प्रतिशत लगानी गरेको छ।
आर्थिक बर्ष २०७४-७५ फागुन मसान्तसम्म कृषि विकास बैंकले कुल १ खर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ। जस मध्ये कृषि क्षेत्रमा मात्रै ३३ प्रतिशत अर्थात ३३ अर्ब रुपैयाँ लगानी गरेको छ।
कृषि क्षेत्रमा ऋण लिन चाहने कृषकहरुको लागि बैंकले सर्वसुलभ मुल्यमा ऋण प्रदान गर्दै आएको बैकका सूचना अधिकृत हिमलाल पौडेलको भनाई छ। बैंकले तोकिएको ऋण अनुसार धितो रहेमा किस्तामा ऋण प्रवाह गर्ने गरेको उनले बताए।
यस आर्थिक बर्षमा पनि अघिल्लो बर्षको तुलनामा कृषि क्षेत्रमा बढी लगानी गर्ने योजना रहेको सुनाउदै पौडेलले भने, 'बैंकलाई सञ्चालन गर्न सक्ने स्रोत चाहियो, स्रोत बढ्दै गएपछि मुख्य प्राथमिकता भने कृषि क्षेत्रलाई नै रहनेछ ।’ कृषि क्षेत्रको बिकास तथा बिस्तारकै लागि कृषि बिकास बैंकको स्थापना भएको भएपनि बैंकले अझै पनि शतप्रतिशत कृषिमा नै लगानी गर्न नसक्ने पौडेलको भनाई छ। बैंकले कृषि क्षेत्रका साथ साथै व्यवसाय,घरजग्गा लगायतका क्षेत्रहरुमा समेत कर्जा लगानी गर्दै आएको छ।
बैंकसंग पौने दुई लाखको हाराहारीमा ऋणीहरु रहेका छन। बैंकबाट करोड भन्दा माथिको ऋण लिनेको संख्या दुई सय भन्दा बढी रहेको बैंकले जनाएको छ। बैंकले हाल २५९ शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।