एनएमबि बैंक र वन टु वाच बीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्क बीच हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ्ग अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।
वन टु वाचले लगानी अवसर सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ । एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशी लगानीको स्वीकृति नपाउन्जेल सम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ्ग उपलब्ध गराउने छ ।
यस सहकार्यका माध्यमबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनिहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने लक्ष्य लिएका छन् ।