जसले जोखिम मोलेर ‘नेरु’लाई नेपालभर चल्ने बनाए...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 02:59:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बाचुन्जेल जीउँदो इतिहासको रुपमा रहे, हिमालय शमशेर जबरा । आज माघ २२ गते अर्थतन्त्रको इतिहासलाई यथावत छाडेर आफू अस्ताएका छन् । उनले ९५ वर्षको उमेरमा संसार छाडे । संयोग १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका जबरा आज स्वस्थानी पूर्णिमाकै दिन निधन भएको छ ।

एक सय ४ वर्षसम्म निरन्तर नेपालको राज्यसत्ता चलाएको राणा वंशका एक सदस्य हुन् राणा । राणा परिवारकै भए पनि मुलुकमा प्रजातन्त्र आउनुपर्छ भन्ने विचारधार बोक्ने व्यक्ति सक्रिय रुपमा नै राणा शासन हटाउने क्रान्तिमा होमिएका थिए ।

२००७ सालको क्रान्तिपछि उनी अर्थमन्त्रालयको सचिव नियुक्ति भएका थिए । अर्थ मन्त्रालयको नेतृत्व त्यत्तिबेला सुवर्णशमशेरले सम्हालेका थिए । पहिलो अर्थ सचिवको लागि अर्थशास्त्रमा एमए वा वाणिज्यशास्त्रमा एमकम स्नातकोत्तर गरेका कर्मचारीको खोजी भएपछि उनी त्यहाँ नियुक्त भएका हुन् ।

उनी पहिलो अर्थ सचिव हुँदा नेपालमा भारतीय मुद्राको एकाधिकार जस्तै थियो । सरकारी कामकाजदेखि किनमेलसम्म भारतीय मुद्राको मात्रै चल्ती थियो । जुन कुरा उनलाई चित्त बुझेको थिएन । ‘अर्थसचिव भएपछि तराई घुम्न गएका बेला नेपाली मुद्रा प्रयोग गर्न पाइन्न भनेपछि धेरै खिन्नताबोध महसुस गरेको थिएँ’, केही समय पहिला उनले एक टिभी कार्यक्रममा भने थिए, ‘त्यत्तिबेला मालपोत तिर्न र सामान किनमेल गर्न नेपाली मुद्रा प्रयोग गर्न नै पो नपाइने रहेछ ।’ 

उनले प्राय ठाउँमा आफ्नो विगत बताउने बेला त्यही भ्रमणबाट काठमाडौँ फर्किएपछि धेरै दिनसम्म आफसँग भएको नेपाली नोट पकेट मै राखेर भारतीय नोटले किनमेल गर्नुपरेको विषयले पछिसम्म पनि झस्काइरहेको कुरा जोडिहाल्थे ।

जसबाट उनलाई त्यो कुराले निकै प्रभाव पारेको सजिलै महसुस गर्न सकिन्छ । त्यसपछि पनि तराइको अर्थतन्त्र कसरी सुधार्ने भन्नेमा उनको लगाब गयो । केही नीतिगत व्यवस्था पनि गरे तर चाहेको जस्तो गरी नेपाली नोटलाई तराइमा चिनाउने योजना भने त्यतिबेला अधुरै हुन पुग्यो ।

उनी ५ वर्षको कार्यकाल सकेर बाहिरिए । यद्यपि उनले तराइ तथा भोटका सिमानाहरुमा रहेका बजारहरु पुर्नसंरचित गर्ने र नेपाल भारतका मुख्य पाँच स्थानमा रहेका बजार अड्डालाई भन्सार कार्यालयमा परिणत गरेका थिए । 

उनी मुद्रा व्यवस्थापन गर्ने छुट्टै संयन्त्र बनाउने कार्यमा धेरै नै सक्रिय भएर लागेका थिए । त्यत्तिबेला नेपाली मुद्रा सदरखानाले निस्कासन गथ्र्याे भने हस्ताक्षर खचाञ्जीले गर्थे ।

त्यसपछि, विसं २०१३ मा राष्ट्र बैंक स्थापना भयो । राजा महेन्द्रले उनलाई पहिलो गर्भनरको प्रस्ताव गरेकामा उनले स्वीकार गरे । करिब ५÷६ महिना त्यसको लागि गृहकार्य गरे । राष्ट्र बैंकको ऐनको मस्यौदा बनाउन पाएको जिम्मेवारी पुरा गर्न लागे । मस्यौदा बनाएपछि कानून मन्त्रालयबाट पास गर्नुपर्ने तर मन्त्रालयका कर्मचारी अर्थवाणिज्यका शब्दावली नै नबुझ्दा लामो समय उक्त मस्यौदा नै पास नभएको उनी सुनाउँथे ।

उनले एक कार्यक्रममा राष्ट्र बैंकमा आफ्नो यात्राको बारेमा पत्रकारसँग भनेका थिए, ‘कानुनका कर्मचारी पुरानो फौजदारी, देवानी ऐनको मात्र ज्ञान लिएका रहेछन्, अर्थवाणिज्य नबुझ्ने, पछि प्रोफेसर रत्नबहादुर विष्ट कानून सचिव भएर आएपछि बल्ल पास भएको हो ।’

०००

२०१३ साल वैशाखमा राष्ट्र बैंक सञ्चालनमा आयो । उनी गर्भनर बने । अर्थसचिव हुँदैदेखिको नेपाली नोट देशभर चिनाउने प्रयासमा जुट्न पाउने भएपछि उनको खुसीको सिमा थिएन । खुसी सँगसँगै चुनौती पनि उत्तिकै थिए । 

गर्भनर कार्यकालमै उनले कैलालीदेखि इलामसम्म राष्ट्र बैंकका शाखा, उपशाखा, डिपोहरु खोलेर भारु निरुत्साहित गर्ने तयारीमा जुटे । त्यत्तिबेला आफ्ना कुनै पनि कार्यकालमा नलागेको डर लागेको सुनाउने क्रममा भनेका थिए, ‘शाखा, उपशाखा, डिपोहरु एकैदिन खोलेर भोलिबाट नेरु मात्रै चल्ने घोषणा गर्दा असफल हुन्छु कि भन्ने डर मेरो अनुहारमा राम्रैसँग मडारिएको थियो, धन्न सफल भइयो ।’

नेपाली रुपैया मात्रै चल्ने भनेर पनि नहुने । भएका भारुको सटही दर निर्धारणमा पनि निकै कठिन भयो । उनले तीन वर्ष लगाएर अनुसन्धान गरेका थिए । भारुसँग अहिले जुन विनिमय दर छ (सय रुपैयाँको १६०) त्यो उनैले कायम गरेको दर हो ।

 पछि उनले व्यापारिक क्षेत्रमा हात हालेर सफलता पनि प्राप्त गरेर हिमालयन बैंकसँगै उनले गोर्खा बु्रअरी भित्र्याएर व्यवसायिक क्षेत्रमा पनि ठुलो योगदान गरेका छन् ।

यसकारण दर्जन काममा ‘पहिलो’को श्रेय

–अर्थसचिव भएपछि उनले मालपोत, राजस्व, खर्च, बजेट, आर्थिक मामिला विभाग गठन गरे ।

–आम्दानी–खर्चको हिसाब नै नहुने परम्परा तोडेर पहिलो बजेट बनाए

–पहिलोपटक आर्थिक नियामवली ल्याए ।

–राष्ट्र बैंक ऐनको निर्माण गरे

–पहिलो गर्भनर

–नेपाली नोटमा हस्ताक्षर गर्ने पहिलो व्यक्ति

–नेपाली मुद्रा मात्रै चलाउने घोषणा

–नोट प्रिन्टमा भारतीय एकाधिकार तोडेर अन्तर्राष्ट्रिय टेन्डर आव्हान (वेलायतको डिरारु कम्पनीले टेन्डर पाएको )

–भारु एक सय रुपैयाँ बारचबर नेरु एक सय साठी विनिमय दर निर्धारण 

–नीजि क्षेत्रको पहलमा पहिलो बैंकको रुपमा ‘हिमालयन बैंक’को स्थापना

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved