किन नेपाली जनताले अर्थतन्त्र सुधार भएको महसुस गर्न पाएनन् ? गभर्नर अधिकारीको विचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 09:05:55 AM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष नेपालको चालू खाता घाटा (करेन्ट एकाउन्ट डेफीसेट) १२.८ प्रतिशत थियो। गत वर्ष नेपालको चालू खाता घाटा १२.८ प्रतिशत हुँदा म रातभर सुत्न सकिन तर देशका ठूलो तप्कालाई त्यसको कुनै महसुस नै भएन। जबकी अहिले ३ हप्ता पनि आयात धान्न नसक्ने अवस्थामा पुगेको पाकिस्तानको चालू खाता घाटा ४.६ प्रतिशत मात्रै छ। यसले पनि नेपाल कस्तो अवस्थाबाट गुज्रिएर अहिले कुन अवस्थामा आइपुगेको छ भन्ने कुरा देखाउँछ। त्यो अवस्थाबाट यो अवस्थामा ल्याउन नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई लिएर मलाई गर्व लागेको छ। 

कुल ग्राहस्थ उत्पादनको १२.८ प्रतिशत चालू खाता घाटाको अवस्थामा न अहिलेको पाकिस्तान, न श्रीलंका पुगेको छ तर नेपाल पुगेको थियो। विश्वमै कहीं नभएको जटिल अवस्थाबाट आज सहज अवस्थामा नेपाललाई ल्याउनलाई धेरै दुख गरेका छौँ। यसले भोलिका दिनमा नेपालको अर्थतन्त्रलाई ठूलो आधार दिन्छ। 

कुल ग्राहस्थ उत्पादनको १२.८ प्रतिशत चालू खाता घाटाको अवस्थालाई आजको सहज अवस्थामा ल्याउँदा नेपालले विदेशबाट आफूले चाहेको औषधि ल्याउन पाएको छ, अरु अत्यावश्यक वस्तु तथा सेवा खरिद गर्न पाएको छ। यसले नेपालले पूँजी निर्माण गर्न चाहे त्यसको बाटो खोलेको छ। नेपाल बचाउने हो भने यो सुधारलाई संरक्षण गर्नुपर्छ, यसलाई जोगाउनुपर्छ। 

नेपालका आर्थिक सूचकका अंक र तथ्यांकमा सुधार आएको छ र थप सुधार हुने अवस्थामा छ तर नेपाली समाजले महसुस गर्न पाएको छैन। यो सत्य हो र यसलाई हामीले पनि स्वीकार गरेका छौँ। 

जता गयो उतै ब्याज बढेर उद्योग, व्यवसाय र दैनिकी धान्न गाह्रो भएको सुन्छु। तर हामीले बुझ्नुपर्ने कुरा ब्याज नै बढेर मात्र आर्थिक गतिविधि चलायमान हुन नसकेको हो वा अरु हुनुपर्ने गतिविधि नभएर हो भन्ने कुरा पत्रकारहरुले पनि बुझ्नुपर्छ र नेपाली समाजलाइ पनि बुझाउनुपर्छ। 

ब्याजकै कारणले मात्रै आर्थिक तथा व्यवसायिक गतिविधि ठप्प भएको भन्ने कुरा सही होइन। व्यवसायिक गतिविधि हुनलाई ब्याजको हिस्सा कति प्रतिशत हुन्छ, त्यसको खोजी गरौँ र गर्नुपर्छ। व्यवसायको लागत बढ्नुमा ब्याजको हिस्सा कति हुन्छ भन्ने कुराको अध्ययन हुनुपर्छ र पत्रकारहरुले अध्ययन गर्नुपर्छ। 

सबैको औँला राष्ट्र बैंकतर्फ फर्किएका छन्, यसलाई राष्ट्र बैंकप्रति जनताको अपेक्षा धेरै छ भन्ने कुराले हामीलाई खुसी दिएको छ, हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ। एउटा उत्पादन (प्रोडक्ट)को लागतमा ब्याजको हिस्सा (कम्पोनेन्ट) कति प्रतिशत हुन्छ भन्ने कुरा ब्याजमात्र कारण हो भनेर भन्नेहरुले हेर्दिनुपर्छ। 

व्यवसायिक गतिविधिमा ब्याजबाहेकका कम्पोनेन्टले के कस्तो असर गरिरहेको छ भनेर हेर्नुपर्छ। गत वर्ष १३ प्रतिशत ब्याज हुँदा पनि कर्जा नपुगेको अवस्था थियो। त्यो बेला बजार चलायमान पनि थियो। उद्योगी, व्यवसायीको व्यापार भइरहेको थियो र कमाउनेहरुले राम्रै कमाई पनि गरेका थिए। यद्यपि निजी क्षेत्रले कसले कति कमायो भन्ने कुरा सार्वजनिक गर्नुपर्दैन। जसले गर्दा उहाँहरुको व्यवसायको वास्तविक अवस्था नेपाली जनतालाई थाहा हुँदैन।  व्यवसायिक गतिविधि चलायमान हुनबाट रोक्नलाई ब्याज मात्र कारण होइन भन्ने त देखिन्छ। 

अहिले व्यवसायिक गतिविधि नहुँदा र आर्थिक क्रियाकलापमा शिथिलता आउँदा ब्याज मात्रै कारण हो भन्ने बनाइएको छ। आर्थिक सुचकका अंक र तथ्यांकमा सुधार आउँदा पनि नेपाली समाजले महसुस गर्न किन सकेन भन्ने कुराको एउटा उदाहरण दिन चाहन्छु।  

एउटा भरी पोखरी थियो, सबै पानी फालियो। पोखरी खाली हुँदा र खाली पोखरी फेरी भर्न लाग्ने समयसम्म उक्त पोखरीको पानी प्रयोगकर्तालाई सकस हुने हो, जब केही गरेर पोखरीमा पानी ल्याइन्छ र पानी पोखरीको सतहमा आउँछ बल्ल पानी प्रयोगकर्ताले पानी प्रयोग गर्न पाउँछन् र सहज महसुस गर्छन्, ठिक यही हो अहिलेको अवस्था। 

पोहोर २५५ अर्ब नकारात्मक शोधनान्तर घाटामा रहेको अवस्था हो। अहिले यसलाई १४८ अर्ब शोधनान्तर बचतमा ल्याएका छौँ। त्यो २५५ अर्ब नकारात्मक शोधनान्तर घाटालाई पूर्ति गर्न अझै केही रकम बचत हुन आवश्यक छ। पानी भएको पोखरी रित्तिएर सतहभन्दा पनि भित्र पुगेको अवस्था हो २५५ अर्बको नकारात्मक सोधानन्तर घाटा भनेको। अब त्यो अवस्थामा सुधार भएर १४८ अर्बको शोधनान्तर बचत भएको छ। यो भनेको पोखरीमा पानी भरिन अझै बाँकी छ। पोखरीमा पानी भरिएर सतहमा आएपछि बाहिरकाले पोखरीमा पानी रहेको महसुस गर्न थाले झैँ शोधनान्तर बचत आफ्नो तहमा आएपछि आर्थिक अवस्था सुधार भएको महसुस नेपाली समाजले बल्ल गर्नेछ। 

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ। शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।

व्यवसायिक अवस्था बिग्रिन्दा र नेपाली समुदाय सकसपूर्ण अवस्थामा पुग्दा पनि नेपाल राष्ट्र बैंकले केही गरेन भन्ने आरोप लागिरहेको छ र आरोप लगाइरहनु भएको छ। आफ्नो कमजोरीले समस्या भयो भन्ने कुरा कहिल्यै स्वीकार नगर्ने तर समस्याको कारण  सधैँ अरुलाई देखाउने नेपाली समाजको एउटा दुखद बानी छ। 

कोभिड १९ को बेला सबै कुरा ठप्प थिए। सीमानाका हवाईमार्ग सबै बन्द थिए। काठमाडौँबाट सुदुरपश्चिम जानुपर्दा पनि हिंडेर जानुपर्ने अवस्था थियो। तर यो एक वर्ष धेरै मिहिनेत गरेर अर्थतन्त्रलाई चलायमान हुने बनाइयो। एउटा यातायात व्यवसायीले यातायात सञ्चालनका लागि दुई लाख कर्जा माग्नुभयो। अब बिग्रिएको अवस्थामा कर्जा नदिनु भनेर राष्ट्र बैंकले भन्ने कुरा भएन र भनेन पनि। 

बरु उल्टै यसरी अप्ठ्यारोमा परेका व्यवसायलाई उठाउन सहुलियतमा कर्जा, पुनर्कर्जा, अन्य राहतका प्याकेज, ब्याजमा छुट, कर्जाको पुनर्तालिकीकरण, कर्जाको पुनर्संरचनालगायतका काम राष्ट्र बैंकले गर्यो। त्यो बेला पनि हामीले सरकारसँग कति पैसा छ र हाम्रो अर्थात राष्ट्र बैंकको अवस्था कस्तो छ भनेर हामीले नजिकबाट नियालिरहेका थियौँ। र त्यहीअनुसार सहज बनायौँ। राष्ट्र बैंकले यत्रो गरेर धेरै उद्योग व्यवसायलाई उठाउने काम गर्यो। तर अहिले उहाँहरुले नै राष्ट्र बैंकमाथि प्रश्न गर्दै हुनुहुन्छ। अवस्थालाई सुधार गर्न कसले कति कसरी योगदान दियो भन्ने कुरा आफैँले म, म भनेर आत्मालोचना गर्नुपर्छ।

सहुलियत र राहतका प्याकेजको दुरुपयोग गर्ने बैंक वित्तीय संस्था र ऋणीलाई राष्ट्र बैंकले छाडा छोड्यो र गल्ती गर्नेलाई केही गरेन भन्ने आरोप पनि छ। विगतको तुलनामा धेरै कारबाही भएका छन् र कतिपय कारबाही सार्वजनिक भएका छन् र सबै कारबाही बाहिर ल्याउने कुरा पनि भएन। 

बैंक, बैंकका प्रमुख कार्यकारीहरु कति कारबाही परे भन्ने कुरा बिगतको डाटासँग तुलना गर्दा पनि थाहा भइहाल्छ। कारबाही हुनु अगाडिका कारबाही कति भए र कस्ता भए भन्ने कुरा सम्बन्धित पक्षसँग कुरा गर्दा र थप अध्ययन गर्दा पनि थाहा हुन्छ।  राहत र सहुलियतका प्याकेज ल्याउँदा के गर्नुपर्ने भन्ने कुरा अब हामीले पनि विगतको पाठबाट सिकेका छौँ। 

चालूपूँजी कर्जाको दुरुपयोग गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार राष्ट्र बैंकसँग छ र फौजदारी अभियोग पनि लगाउन सक्छ। खराब गर्नेलाई सकेसम्म मारेर होइन सुधारेर सचेत बनाएर ट्रयाक मा ल्याउनुपर्छ भनेर नै समय र परिस्थितिलाई मध्यनजर गरी आवश्यकताअनुसार कारबाहीको प्रकृति राष्ट्र बैंकले रोजेको हो। हाम्रो क्षमताभन्दा अलि परको र विशेष प्रकृतिको भएमा र नियतबस बैंकको प्रणालीलाई नै अप्ठ्यारो बनाउने काम कसैबाट भएमा मात्र अहिलेलाई विशेष कारबाहीको विकल्प रोजेका हौँ। 

केहीले राष्ट्र बैंकले राजनीति गर्यो भन्ने पनि आरोप लगाएका छन्। तर त्यस्तो होइन। हामीले एउटा निर्देशन ल्याउनुपर्यो भने कम्तिमा राष्ट्र बैंकका दुई दर्जन कर्मचारी संलग्न भएर घनिभूत छलफल गर्छौं। कसैको दबाबमा, कसैको चाहनामा राष्ट्र बैंकले काम गर्दैन। धेरैलाई मेरो स्वभाव पनि थाहा छ।

कहिले काहीं हाम्रा नीति नियम र निर्देशनले कुनै स्वार्थ बोकेका व्यवसायीको  स्वार्थपूर्ति हुनबाट रोकिन्छ र हामीलाई आरोप लगाउँछन्।  त्यो हाम्रो समाजको एउटा प्रवृति नै हो।  हुँदाहुँदै पनि राष्ट्र बैंक जस्तो संस्थालाई राजनीतिसँग जोडेर नहेरिदिनु हुन विनम्र अनुरोध छ। सबैले बुझ्नुपर्ने कुरा के हो भने हिजो पनि राष्ट्र बैंक व्यवसायिक थियो, अहिले पनि व्यावसायिक छ र भोलिका दिनमा पनि व्यवसायिक रहनेछ। 

(मंगलबार फागुन मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी गराउने क्रममा पत्रकारका जिज्ञासामाथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको जवाफको सम्पादित अंश)

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved