सबै हिसाबले विष्लेषण गर्दा कर्जाको ब्याज एकल अङ्कमा आउन तत्काल सम्भव छैन : सीइओ, नेपाल बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 09:16:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सबै हिसाबले कर्जाको ब्याज एकल अङ्कमा आउन तत्काल सम्भव नभएको बताएका छन्। सडकदेखि सदनसम्म कर्जाको ब्याज एकल अङ्कमा आउनुपर्ने माग उठिरहेका बेला सिइओ अधिकारीले यसबारे आफ्नो धारणा राख्दै तत्काल कर्जाको ब्याज एकल अङ्कमा आइहाल्ने स्थिति नरहेको प्रष्ट्याएका हुन् ।

'हामी बैंकरहरुले तथ्य-तथ्याङ्कलाई आधार मानेर बोल्नुपर्छ र बोल्दै आएका छौँ', सीइओ अधिकारीले बिजपाटीसँगको कुराकानीमा भने, 'अहिले ब्याज घट्दै गएको छ, यसले कर्जाको ब्याज पनि विस्तारै घट्दै जानेछ तर कम्तिमा एक डेढ वर्ष कर्जाको ब्याज एकल अङ्कमा आउने अवस्था हाम्रो हिसाबले देखिँदैन।'

उनकाअनुसार वैशाखदेखि लागू हुने व्यक्तिगत मुद्दतीमा ९.९९, संस्थागतमा ७.९९ (प्लस ०.५ सम्म), बचतमा ५.४ देखि ७.४ प्रतिशत ब्याज वैशाखदेखि बैंकमा आउने निक्षेपको लागि हो। तर साउन १ देखि मात्र यो निर्णयको असर कर्जाको ब्याजमा देखिन्छ। 

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको २०७९ फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार बैंकहरुको पैसाको औषत लागत अर्थात आधार दर (बेस रेट) २०७९ फागुनमा १०.६४ प्रतिशतलाई आधार मान्दा साउन मसान्तसम्म पैसाको लागत (बेस रेट) करिब ०.५ प्रतिशतले घट्न सक्ने उनको भनाइ छ। 

साउन १ देखिको सम्भावित पैसाको लागत (बेस रेट) मा राष्ट्र बैंकले दिएको ब्याजदर अन्तरको सीमा भित्र रहेर नयाँ कर्जा प्रवाह गर्दा पनि कर्जाको ब्याज १४.१४ प्रतिशत रहने भएकाले घट्दो ब्याजलाई पैसाको लागत (बेस रेट) मा समायोजन गर्दै जाँदा पनि कर्जाको ब्याज एकल अङ्कमा आउनलाई एक डेढ वर्ष लाग्ने उनले बताए ।

'नेपाल तथा अन्तर्राष्ट्रिय अवस्था अहिलेकै हिसाबमा अगाडि बढिरहेको अवस्थामा मात्रै निक्षेपको ब्याज घट्दै जाँदा त्यसको असरले कर्जाको ब्याज पनि घट्दै जाने र एक/डेढ वर्षमा एकल अङ्कमा आउने आँकलन गर्न सकिन्छ, तर समय परिस्थिति नियन्त्रण बाहिर हुन्छ', उनले भने। 

उनकाअनुसार पछिल्लो समय मुद्दतीको ब्याज बढ्दै जाँदा ग्राहकको बानीमा देखिएको परिवर्तनलाई आधार मान्दा पनि बैंकमा भएको पैसाको लागत धेरैले घट्ने सम्भावना कम छ।  

नेपाल बैंककै उदाहरण दिंदै उनले भने, 'बचतमा ३३ अर्ब रहेकोमा मुद्दती निक्षेपको ब्याज बढ्दा अहिले मुद्दती निक्षेपमा भएको पैसा ३८ अर्ब पुगेको छ। यसको अर्थ बढी ब्याज आउने भएपछि ग्राहकले आफूसँग बचत खातामा भएको पैसा झिकेर मुद्दती निक्षेपमा राख्ने 'ट्रेन्ड' बढेको छ', यो सबै बैंकको अवस्था हो।' 

उनका अनुसार कर्जाको ब्याज एकल अङ्कमा आउनलाई बैंकहरुमा भएको पैसाको लागत अर्थात् बेस रेट कम्तिमा पनि ७ प्रतिशत हाराहारी हुनुपर्छ। राष्ट्र बैंकले कायम गरेको ४ प्रतिशतको मार्जिन कायम हुनेगरी बेस रेटमा प्रिमियम जोड्दा (५ प्रतिशत प्रिमियम अत्यन्त कम अवस्थामा हुन्छ, औषतमा ३ प्रतिशत प्रिमियम हुने गर्दछ) कर्जाको ब्याज एकल अङ्कको हुनलाई पनि आधार दर अर्थात बेस रेट ७ प्रतिशत हुनुपर्छ। साउन १ देखि हुन सक्ने औषत बेस रेट १०.१४ प्रतिशत घटेर ७ प्रतिशतमा आउनलाई लागत पनि ३ प्रतिशतले घट्नुपर्छ। 

'वैशाखदेखि असारसम्म बेस रेट ०.५ प्रतिशतले घट्ने अनुमान गर्दा ३ प्रतिशत घट्न यथास्थितिमा कम्तिमा पनि १५ महिना पर्खनुपर्ने हुन्छ। त्यसैले एउटा बैंकरको नाताले र बैंक बुझेको र बैंकको अनुभव भएको नाताले सबै हिसाबले हेर्दा पनि कर्जाको ब्याज एकल अङ्कमा आउन तत्काल सम्भव छैन', उनले थपे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved