कोशी प्रदेशमा निक्षेप १५ प्रतिशत, कर्जा प्रवाह २.५ प्रतिशतले बढ्यो, तीन जिल्लामा थुप्रियो पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 01:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन १५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह २.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको यस प्रदेशको प्रादेशिक आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो । 

असार मसान्तसम्म कोशी प्रदेशबाट संकलन गरेको कुल निक्षेप १५ प्रतिशतले वृद्धि भई ४ खर्ब २१ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो निक्षेप ३ खर्ब ६६ अर्ब ६८ करोड पुगेको थियो ।

सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रवाह गरेको कर्जा २.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४३ अर्ब ९९ करोड पुगेको थियो ।

त्यस्तै प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.३ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.७ प्रतिशत रहेको छ । जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.५ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.२ प्रतिशत योगदान रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यता,अधिकांश कर्जा लगानी पनि तीन जिल्लामा सीमित भएको देखिन्छ । प्रवाह भएको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८८.६ प्रतिशत रहेको देखिन्छ भने अन्य जिल्लाको ११.४ प्रतिशत मात्रै छ । प्रतिवदेन अनुसार मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४२.४ प्रतिशत र ताप्लेजुङ, खोटाङ तथा तेह्रथुम जिल्लाको हिस्सा सबैभन्दा कम क्रमशः ०.५ प्रतिशत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved