कर्णाली प्रदेशमा निक्षेप संकलन १२ प्रतिशत, कर्जा प्रवाह ५ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 11:45:13 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन ११.८९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५.४७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको यस प्रदेशको प्रादेशिक आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो । 

असार मसान्तसम्म कर्णाली प्रदेशबाट संकलन गरेको कुल निक्षेप ११.८९ प्रतिशतले वृद्धि भई ६७ अर्ब ४९ करोड ९१ पुगेको छ । अघिल्लो आवमा यस्तो निक्षेप ६० अर्ब ३२ करोड पुगेको थियो ।

सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, बैकिङ सेवा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले निक्षेपमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रवाह गरेको कर्जा ५.७ प्रतिशतले वृद्धि भई ५७ अर्ब ९३ करोड ६७ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ५४ अर्ब ९२ करोड पुगेको थियो ।

कर्णाली प्रदेशमा संकलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि देखिन्छ । यस जिल्लामा समीक्षा वर्षमा २७ अर्ब १५ करोड २५ लाख निक्षेप संकलन भएको छ भने, सोही अवधिमा रु.३६ अर्ब ५ करोड ९७ लाख कर्जा प्रवाहित भएको छ ।

त्यस्तै सबैभन्दा कम निक्षेप संकलन मुगु जिल्लामा रु.२ अर्ब ३५ करोड ७० लाख भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम रु.६४ करोड ८ लाख कर्जा प्रवाह भएको छ ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा संकलित कुल निक्षेपमध्ये सबैभन्दा धेरै बचत निक्षेपको अंश ५०.४४ प्रतिशत रहेको पाइएको छ । त्यसैगरी चल्ती, मुद्दती र अन्य निक्षेपले क्रमशः १८.१४ प्रतिशत, २५.६९ प्रतिशत र ५.७४ प्रतिशत हिस्सा ओगटेका छन् ।

यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ४६६ शाखा रहेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा यस प्रदेशमा जम्मा ४५५ वटा शाखा रहेका थिए । ४६६ शाखामध्ये वाणिज्य बैंक (क वर्ग) का २०६ वटा, विकास बैंक (ख वर्ग) का २१ वटा, वित्त कम्पनी (ग वर्ग) का ३ वटा र लघु वित्त वित्तीय संस्था (घ वर्ग) का २३६ वटा रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved