बैंकमा थुप्रियो पैसा, व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मेहम्मे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 04:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) अधिक भएको छ । बैंकिङ्ग प्रणालीमा पैसा थुप्रिँदा केन्द्रिय बैंकलाई व्यवस्थापन गर्न नै हम्मेहम्मे परेको छ । चालू आर्थिक वर्ष सुरु भएदेखि निक्षेपमा भएको वृद्धि अनुसार कर्जामा वृद्धि नहुँदा बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकम थुप्रिएको हो । 

बैंकमा कर्जाको माग नै नभएपछि लगानीयोग्य रकम बढी भएको हो । लगानीयोग्य रकम अधिक भएपछि केन्द्रिय बैंकले व्यवस्थापनका लागि निक्षेप संकलन गरेको छ । केन्द्रिय बैंकले मंसिर ६ गते यता १८ पटकमा २ खर्ब ८२ अर्ब २० करोड रुपैयाँ पैसा तानेको (प्रशोचन) गरेको छ । 

चालू आर्थिक वर्षमा मौद्रिक नीतिमार्फत निक्षेप संकलन दर ४.५ प्रतिशत तोकेको राष्ट्र बैंकले बैंकमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा पनि तल गएपछि मंसिर २२ गते पहिलो त्रैमासिक समिक्षामार्फत ३ प्रतिशतमा झारेको थियो । पहिलो त्रैमासिक समिक्षामार्फत अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम गर्ने लक्ष्य राखेको केन्द्रिय बैंकलाई उक्त सीमा कायम गर्न निकै सकस परेको छ । 

यसका लागि केन्द्रिय बैंकले मंसिर २२ यता मात्रै १२ पटकमा २ खर्ब २ अर्ब २० करोड रुपैयाँ बैंकिङ्ग प्रणालीबाट खिचेको छ । त्यसअघि भने राष्ट्र बैंकले ८० अर्ब पैसा खिचेको थियो । 

यसबीचमा मंसिर २१ गते अन्तर बैंक ब्याजदर सबैभन्दा कम ०.४९०० पुगेको थियो । पुस १८ गते राष्ट्र बैंकले लिएको लक्ष्यको तल्लो सीमा ३ प्रतिशतभन्दा बढी अर्थात ३.११०० प्रतिशत पुगेको थियो । 

केन्द्रिय बैंकले पछिल्लो पटक पुस १९ गते २० अर्ब निक्षेप संकलनको लागि आव्हान गरेकोमा बैंक तथा वित्तीय संस्थाबाट १९ अर्ब १० करोडको बोलकबोलमा १७ अर्ब ३० करोडको निक्षेप संकलन गरेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम २.८९९९ देखि अधिकतम ३.३००० प्रतिशत ब्याजदर पाएका थिए ।  

नीतिगत व्यवस्थाअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न पाउँछन् । तर यतिबेला बैंकहरूको लगानीयोग्य क्षमता अर्थात कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत वरिपरी छ । यसको अर्थ बैंकसँग पर्याप्त लगानी योग्य रकम रहेको छ । सीआरआर ४ प्रतिशत छुट्याउँदा पनि बैंकहरुसँग ५ खर्ब लगानी योग्य रकम रहेको बताइन्छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यतिबेला (पुस २१ ग्तेसम्म) बैंकिङ प्रणालीमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये बढी हिस्सा ओगट्ने वाणिज्य बैंकमा मात्रै ५३ खर्ब ८५ अर्ब निक्षेप छ । त्यस्तै विकास र वित्त कम्पनीहरूले ६ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

यता, यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब ३३ अर्ब रुपैयाँ कर्जा लगानीमा भएको छ । यसमध्ये वाणिज्य बैंकबाट ४४ खर्ब ४९ अर्ब रुपैयाँ लगानीमा भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ८३ अर्ब रुपैयाँ लगानी भएको छ ।

बैंकमा कर्जा लगानीको रकम प्रशस्तै भएपनि स्वयं बैंक नै यतिबेला नयाँ लगानीको मनस्थितीमा छैनन् । चालू आर्थिक वर्षको छ महिनाको अन्तिम समयमा बैंक तथा वित्तीय संस्था नयाँ कर्जा दिनुभन्दा भन्दा पुरानो कर्जा नै असुलीमा लागेको एक बैंकर बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved