निक्षेपको ब्याज घट्यो तर घटेन कर्जाको भारी, राष्ट्र बैकको सर्कुलरले ऋणीसँगै बैंकर पनि तनाबमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 11:40:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले दिनुपर्ने ब्याजको दर अर्थात निक्षेपको दर घटाएपनि कर्जाको ब्याज अपेक्षाअनुरुप घट्न सकेको छैन। जसले गर्दा आर्थिक मन्दीको चपेटामा परेका ऋणीहरुमाथिको कर्जाको भार उस्तै रहेको पाइएको छ। 

दुई वर्ष अगाडी मासिक किस्ता ४२ हजार हुने ऋणीको किस्ता यहि पुष मसान्तसम्म पनि ५६ हजार भएको पाइएको छ।  बैंकबाट ऋण लिने सर्वसाधारण तथा उद्योगी व्यवसायीको कथा व्यथा यस्तै रहेको पाइएको छ। 

"पत्र पत्रिकामा ब्याज घट्यो भनेर पढेको धेरै भयो तर मैले तिर्ने मासिक किस्ताको भार अहिले पनि उस्तै छ। बैंकहरुले बचत तथा मुद्दती निक्षेपमा दिने ब्याज घट्दा बैंकको  लागत घट्न गई कर्जाको पनि ब्याज घट्छ भन्ने थियो तर महसुस गर्न पाएको छैन" एक बैंकबाट दुई वर्ष अगाडी कर्जा लिएका ऋणीले बिजपाटीसँगको कुराकानीमा भने। 

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको अध्यक्ष दिनेश श्रेष्ठले पनि निक्षेपको ब्याज घटेपनि अपेक्षागरेअनुसार कर्जाको ब्याज नघटेको गुनासो गरे।  बैंक, विकास बैंक र फाइनान्समा  अहिलेपनि कर्जाको औषत ब्याज करिब १३ प्रतिशत रहेकोले कर्जाको भार नघटेको उनको भनाई छ। "औषतमा बैंक वित्तीय संस्थाको कर्जाको ब्याज अहिलेपनि १३ प्रतिशत हाराहारी छ, शेयर, घरजग्गा र गाडीको औषत गर्ने हो भने अहिले पनि औषत ब्याज १४-१५ प्रतिशत नै छ।"निक्षेपको ब्याज घटाएर बैंकले आफ्नो लागत घटाए पनि ऋणीको ब्याजको लागत नघटेकाले अवस्था अझैं पनि सहज र सन्तोषजनक नभएको उनको तर्क छ। 

अधिकांश बैंकहरुले माघदेखि लागूहुने गरि निक्षेपको ब्याज घटाएका छन् भने कहिले यथावत राखेका छन्। जसले गर्दा माघदेखि लागू हुनेगरी निक्षेपको ब्याजको दर झन्डै एक प्रतिशतले घटेको छ। माघमा एक वर्षीय मुद्दती निक्षेपको ब्याज ८.०५४ प्रतिशतमा झरेको छ। पुसमा यो दर ८.९४ प्रतिशत थियो। यसले पुषको तुलनामा माघमा निक्षेपको ब्याज करिब ०.८९ प्रतिशतले घटेको देखाउँछ। त्यस्तै पुषको तुलनामा माघमा साधारण बचतको ब्याज औषतमा ०.४४ प्रतिशतले घटेको छ। 

पछिल्ला केहि महिनायता बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर रुपमा घटाईरहेका छन्। बैंकहरुले निक्षेपको ब्याजदर घटाउदा ब्याज लागत घटेर आधार दर पनि घट्न जाँदा कर्जाको ब्याज घट्ने बैंकिंङ सिद्दान्त हो। तर जुन दरले बचत र मुद्दतीको ब्याज घटेको छ, त्यो दरले आधार दर नघटदा र प्रिमियम दर चर्को लिने गर्दा अहिले पनि ऋण लिनेहरुमाथि कर्जाको भार उस्तै रहेको ऋणीहरुको गुनासो छ। 

राष्ट्र बैकको सर्कुलरले थप सकसमा ऋणी 

आर्थिक मन्दीको चपेटामा परेर बैंक वित्तीय सँस्थालाई तिर्नुपर्ने सावाँ ब्याज निरन्तर तिर्न नसकेकामाथि नेपाल राष्ट्र बैकको सर्कुलरले थप सकस बनाएको ऋणीको गुनासो छ। पुष मसान्तसम्ममा कर्जाको 'स्ट्याटस' जे जस्तो छ त्यसकै आधारमा असार मसान्तसम्म प्रोभिजन गर्नुपर्ने पछिल्लो राष्ट्र बैकको सर्कुलरको व्यवस्था छ। यहि व्यवस्थाका कारण ऋणीहरुमाथि जुनै हिसाबले पनि 'स्ट्याटस' मेन्टेन गराउनलाई बैंकहरुले ब्रान्च प्रमुख मार्फत ऋणीमाथि दबाब बढाएका छन्। जसले गर्दा आर्थिक मन्दीको चपेटामा परेर कर्जा तिर्न नसकेकाको अवस्था थप सकसपूर्ण बनेको छ। 

"रिकभरी डिपार्टले कर्जा असुलिको जानकारी लिनलाई दिनमा दुई तिन पटक ताकेता गर्छ। त्यहि दबाबअनुसार हामीले पनि ऋणीलाई दिनमा कयौं पटक फोन मेसेज गर्न बाध्य छौं" एक बैंकका शाखा प्रमुखले भने, "आफुले जिम्मा पाएको शाखाको प्रोभिजन धेरै भयो भने भोलि आफ्नो पर्फर्मेन्समा असर गर्छ, त्यहि भएर कर्जा तिर्न गाह्रो छ भन्ने थाहा हुँदाहुँदै पनि ऋणीमाथि प्रेसर दिनु पर्ने बाध्यता छ।"

अहिलेको अप्ठ्यारो बेलामा राष्ट्र बैंकले जारी गरेको यो सर्कुलरले सबैभन्दा बढी पिडा आफुहरुलाई परेको ति शाखा प्रमुखको भनाई छ। सावाँ ब्याज तिर्दै जाँदा ऋणको स्ट्याटस जस्तो छ त्यहि अनुसारको प्रोभिजनको व्यवस्था हुनुपर्नेमा पुष मसान्तमा जे छ त्यहि अर्को ६ महिनासम्म रहने व्यवस्थाले सबैलाई अप्ठ्यारो परेको उनको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved