रातारात अर्बपति बन्ने सञ्चालकको महत्वकांक्षाले सहकारी डुबेको निष्कर्ष

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 14, 2024 | 09:39:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी संस्थाहरु बचत रकम नै फिर्ता गर्न नसक्ने गरि समस्यामा पर्नुका पछाडी सञ्चालकहरुको महत्वकांक्षा नै प्रमुख कारण रहेको पाइएको छ। पछिल्ला समयमा सहकारीमा परेका उजुरीको अध्ययन तथा अनुसन्धानमा यस्तो भेटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। 

सहकारी सञ्चालकहरुको तत्काल अर्बपति बन्ने महत्वकांक्षाले सहकारी संस्थाहरुमा समस्या देखिएको सीआईबीको निष्कर्ष रहेको छ। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार अहिलेसम्म सीआईबीले अनुसन्धान गरेका सहकारीहरुमा देखिएको समस्याको प्रकृति हेर्दा सहकारी सञ्चालकहरुको रातारात धनी बन्ने महत्वकांक्षा नै समस्याको प्रमुख कारण हो।

सीआईबीले अनुसन्धान सकेर मुद्दा दायर गरिसकेका शिवशिखर बहुउदेश्यीय सहकारी संस्था र देउराली बहुउदेश्यीय सहकारी संस्थामा सञ्चालकहरुले नै बद्मासी गर्दा समस्या निम्तिएको र फलस्वरुप हजारौँ बचतकर्ताको पैसा जोखिममा परेको देखाएको छ।

‘शिवशिखर र देउराली सहकारीका सञ्चालकविरुद्द जुन उजुरु पर्यो, त्यसमा हामीले अनुसन्धान गर्दा सञ्चालकहरुबाटै बद्मासी भएको देखिन्छ, हामीले त्यसै अनुरुपा अनुसन्धान सकेर मुद्दामा गएका थियौँ, सञ्चालकहरु थुनामा गइसकेको अवस्था छ’ एसएसपी आचार्यले भने, ‘यी बाहेक पनि हामीले धेरै सहकारीको अनुसन्धान गरेका छौँ, अहिले पनि धेरै वटाको अनुसन्धान जारी छ । अनुसन्धान सकिएर मुद्दामा गएका र अनुसन्धाना जारी रहेका सहकारीलाई हेर्दा मसिना अरु कुराहरु भए पनि मुख्य कुरा चाहिँ सञ्चालकहरुको रातारात धनी बन्ने सोच नै मुख्य कारण देखिन्छ ।’

सञ्चालक नै मुख्य कारक कसरी ?

सीआईबीका एसएसपी आचार्यका अनुसार अनुसन्धानले सहकारी संस्थाका सञ्चालकले कमसल धितोमा धितो मूल्यांकनभन्दा बढी रकम कर्जाका रुपमा दिएको र त्यस्तो कर्जा ऋणीबाट आफूले लिएर अपचलन गरेको पाइएको छ । 

‘सबै सहकारीमा यो समस्या देखियो’ उनले भने, ‘कमसल धितोमा बढी कर्जा दिने, एक दिनमै कागज मिलाएर धितो मूल्यांकन सक्ने र त्यसरी दिएको कर्जा सञ्चालक आफूले पनि मिलेमतोमा उपयोग गर्ने गरेको पाइयो ।’

ऋणीबाट मिलेमतोमा लिएको पैसा सहकारीका सञ्चालकले जग्गा किन्नमा बढी खर्चिएको देखिएको एसएसपी आचार्य बताउँछन् । त्यस्तै, जति पनि सहकारीमा समस्या देखिएको भनिएको छ, ति सहकारीका सञ्चालकले सहकारीमा सदस्य नै नभएका व्यक्तिलाई पनि ऋण दिएको पाइएको उनको भनाई छ । 

सहकारी सञ्चालकले आफ्ना आफन्तलाई कमजोर धितो राखेर त्यसको अधिक मूल्यांकन गराएर धितो मूल्यांकनभन्दा अधिक कर्जा दिलाएकाले मुख्य दोषी ऋणी नभई सहकारी सञ्चालक नै देखिएको प्रहरीको बुझाई छ ।

‘ऋणीले आफूले लिएको कर्जाको साँवा र ब्याज नतिर्दा बचत फिर्तामा समस्या देखिएको केस एकदमै रेयर छ, अति नै कम छ’ एसएसपी आचार्यले थपे ।

एसएसपी आचार्यको भनाइ अनुसार पुख्र्यौली रुपमै धनाढ्य नरहेका तर, तत्काल धनी हुने सपना देखेकाहरुले चलाएका सहकारीमा समस्या देखिएको हो । सुधिर बस्नेत, राजेन्द्र शाक्य, इच्छाराज तामाङ, केदार शर्मा, भरत महर्जन र रविन्द्र चौलागाईँ लगायतका व्यक्तिहरुबाट यसको पुष्टि हुने सहकारी अभियन्ताहरुको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved