देउवाको निर्वाचन क्षेत्रमा करोडौंको सामान बाँड्न आइएनजीओलाई मन्त्रीको उर्दी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 12:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सामान वितरण गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उर्दी दिएकी छन् ।

मङ्सिर ४ गते सम्पन्न हुने आसन्न निर्वाचनमा देउवालाई जिताउने प्रयोजनका निम्ति मन्त्री रेग्मीले एनजीओ र आइएनजीओलाई डडेलधुरामा पैसा खर्च गर्नैपर्ने दबाब दिने गरेकी हुन् । आफ्नो पदको दुरुपयोग गर्दै मन्त्री रेग्मीले आइएनजीओ नवीकरण र आयोजना सम्झौता गर्न डडेलधुरामा सामान वितरण गरेको हुनैपर्ने शर्त तेर्स्याउने गरेकी हुन् ।

समाजकल्याण परिषदको पदेन अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले उपाध्यक्षमा अमेरिका बसिरहेकी आफ्नी बुहारी मोनिका भट्टराईलाई नियुक्त गराएकी थिइन् । छोरा बिजय रेग्मीलाई मन्त्री रेग्मीले आफ्नो सल्लाहकार बनाएकी छन् ।

बुहारी र छोराको तजबिजीमा आइएनजीओको नवीकरण र प्रोजेक्ट एग्रीमेन्टका लागि अनाधिकृत शर्त तेर्स्याइएको हो । नाम चलेको एक आइएनजीओका प्रमुखले बिजपाटीसँग भने, 'हामीले डडेलधुरामा यो आर्थिक वर्षमा मात्र ३ करोडको सामान बाँडिसक्यौं ।'

उक्त आइएनजीओले सामान बाँड्ने कार्यक्रममा कांग्रेसका स्थानीय तहका नेताहरूको हालीमुहाली हुने गर्छ । अहिलेसम्म १० वटा भन्दा बढी आइएनजीओले डडेलधुरामा काम गरिरहेका छन् । त्यहाँ देउवाको गुणगान गाइएपछि मात्र सामान बाँडिने गरेको छ ।

रेग्मी २०७८ को असोजमा मन्त्री बनेकी थिइन् । त्यसपछि आफ्ना छोरा बुहारी दुवैलाई अमेरिकाबाट झिकाएर आफ्नो काम फत्ते गर्न अह्राएकी मन्त्री रेग्मीले पछिल्लो समय आइएनजीओहरूलाई सताउने गरेकी हुन् ।

मन्त्रालयका कर्मचारीहरू भने यसबारे बोल्न चाहन्नन् । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक उपसचिवले बिजपाटीसँग भने, 'एकपटक मन्त्रीज्यूले बालुवाटार (प्रधानमन्त्री पत्नी आरजु देउवा)बाट नै दबाब आउने गरेको बताउनु भएको थियो । हामीसँग त मन्त्रीको निर्देशन मान्नुको विकल्प छैन ।'

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए । अहिले पनि उनले सोही क्षेत्रमा मनोनयन दर्ता गराएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved