काँग्रेसका कान्छारामः देशैभरी काम गोलमाल छोड्ने ‘बदनाम ठेकेदार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 05:32:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । निर्माण व्यवसायीसमेत रहेका कान्छाराम अहिले हेलिकप्टर लिएर रामेछाप पुगेका छन् । 

गठबन्धनमा भागबण्डा गर्दा रामेछाप स्वभाविक रुपमा माओवादी केन्द्रले दाबी गरेको थियो । जनयुद्धको विशेष भूमी भएकाले रामेछाप माओवादीले छोड्न नहुने आवाज उठेको थियो । तर, अन्तिममा कान्छारामले टिकट हत्याए । माओवादी अध्यक्ष प्रचण्डलाई मोटो रकम दिएर कान्छारामले टिकट किनेको आरोप पनि लागेको छ ।

बद्नाम ठेकेदार

कान्छाराम बद्नाम ठेकेदार हुन् । रामेछापमा समाजसेवाको नाममा एम्बुलेन्स बाँड्ने जस्ता काम गरेको देखाएपनि उनले देशका विभिन्न ठाउँमा ठेक्का लिएका कयौँ योजना अलपत्र छन् । यसको पछिल्लो उदाहरण हो स्याङ्जाको आधिखोलाको पुल ।

आठ वर्ष अगाडी ठेक्का पाएको उक्त पुल कान्छाराम कन्ट्रक्शनले नबनाएरै टार्यो । स्थानीय युवाहरुले ‘दारी ग्याङ’ जस्तो प्रचलित फेसबुक ग्रुपमा ठेकेदार हराएको सूचना भन्दै कान्छारामको फोटो नै पोष्ट गरे ।

सँगै, सो क्षेत्र भएर गुड्ने सबैजसो गाडीहरुमा उनीहरुले ‘कामचोर ठेकेदार’ भन्दै कान्छारामको फोटो टाँसे । त्यसपछि मात्रै कान्छाराम पुल बनाउन लागे । अझै पनि गाडी गुडेको छैन ।

यसैगरी, २०७४ साल चैतमा झापाको धरमपुर–पाँचगाछी सडक कालोपत्रे भएको भोलिपल्टै उक्कियो । हातैले पिच उक्किएको देखेपछि प्राविधिक र जनप्रतिनिधि छक्क परेका थिए ।

२०७४ को निर्वाचनमा पनि काँग्रेसबाट प्रतिनिधिसभाकै उम्मेदवार रहेका कान्छाराम आफ्नो निर्माण कम्पनीका कर्तुत लुकाउन बेलाबेलामा रामेछापमा समाजसेवीको रुपमा चर्चामा आउँछन् । तर, उनको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्शन भने बद्नाम छ ।

यसैबीच, मन्थलीस्थित रामेछाप विमानस्थलमा पार्किङस्थल विस्तारको ठेक्का पनि कान्छारामले पाएका थिए । ८ वटासम्म साना जहाज पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाउने काम गत वर्षकै फागुन २ मा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । तर, कान्छारामले कामा नगर्दा काम अहिलेसम्म पूर्ण रुपमा सकिएको छैन ।

यसैगरी, बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा जति ताकेता गर्दा पनि ढिलाइ गरेपछि कान्छारामलाई जिल्ला प्रशासन कार्यालय खोटाङले कारबाहीका लागि गृहमा सिफारिस पनि गरेको थियो । 

त्यस्तै, दाङ, घोराहीको चार लेन सडक विस्तारको काम पटक पटक म्याद थप गर्दा पनि अवस्था उस्तै छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–चिडियाखोला खण्डको सिद्धबाबा क्षेत्रमा पनि कान्छारामको काम पनि १ वर्षमा सक्नुपर्नेमा ८ वर्षसम्म पूर्ण छैन ।

यसैबीच, राजधानीको तीनकुने–माइतीघर सडक बनाउने ठेक्का शर्मा एण्ड कम्पनी र कान्छाराम कन्स्ट्रक्शनले पाएको थियो । सडक विभागले गोरखापत्रमा सूचना निकालेर तीन पटकसम्म ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी दिएपछि मात्रै उसले बल्लतल्ल त्यो काम सकेको थियो ।

यसरी, आफूले ठेक्का लिएका देशैभरका आयोजना अलपत्र बनाउने उनै कान्छाराम तामाङ अहिले सत्ता गठबन्धनको बलमा रामेछापबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेर संसद छिर्ने दाउमा छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved