श्रमिकको न्यूनतम तलब २ हजार १७५ थपिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 04:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारदाता र श्रमिकबीच न्युनतम पारिश्रमिक तोक्ने विषयमा सहमति नजुटेपछि अन्तत श्रम मन्त्रालयले नै न्यूनतम् पारिश्रमिक २ हजार १७५ रुपैयाँ बढाउने तयारी गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हाल श्रमिकले पाउँदै आएको १५ हजार मासिक पारिश्रमिकमा २ हजार १७५ रुपैयाँ थप गरेर नयाँ पारिश्रमिक तोक्ने तयारी गरेको हो ।

रोजगारदाता र श्रमिक संगठनहरुबीच सहमति नभएपछि मन्त्रालयले आफैँले पारिश्रमिक निर्धारण गर्न लागिएको श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । उनका अनुसार रोजगारदाताहरु अहिलेको अवस्थामा तलबभत्ता लगायतका कुनै पनि दायित्व बढाउन नहुने पक्षमा छन् भने श्रमिकहरु मासिक २५ हजारभन्दा माथि हुनुपर्छ भन्ने अडानमा छन् ।

यस्तो अवस्थामा राष्ट्र बैंकको रिपोर्टमा उल्लेख भएअनुसारको मूल्यवृद्धिलाई हेरेर मासिक २ हजार १७५ रुपैयाँ बढाउने गरी रोजगारदाता र श्रमिकबीच सहमति गराउने प्रयास भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

कहिले तोकिन्छ नयाँ तलबमान ?

रोजगारदाता र श्रमिकबीच सहमति नभएपछि श्रम मन्त्रालयले असार अन्तिम हप्ता नै नयाँ पारिश्रमिक तोकेर त्यसको सूचना राजपत्रमा प्रकाशित गर्न खोजेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रममन्त्री शरदसिंह भण्डारीलाई अहिले हतार नगर्न भन्दै थप छलफल गर्न निर्देशन दिएपछि रोकिएको थियो ।

तर, अब निर्धारण हुँदा पनि नयाँ पारिश्रमिक साउन १ बाटै लागू हुने गरी तोकिने प्रवक्ता घिमिरे बताउँछन् । उनका अनुसार श्रम मन्त्रालयले यही हप्ता (अबको दुइ तीन दिन) भित्रै आर्थिक वर्ष २०८०/०८१ का लागि श्रमिकको न्यूनतम् पारिश्रमिक तोक्नेछ ।

‘उहाँहरु (रोजगारदाता र श्रमिक संगठन) सहमति गरेर नआएकाले हामीले प्रस्ताव गरेअनुसार छलफल सुरु गरेका छौँ, सम्वद्ध सबै निकायसँग छलफल भइरहेकै छ’ उनले भने, ‘सहमति जुटाउने प्रयास भइरहेको छ, उहाँहरु सहमत भएर नआएकाले मन्त्रालयले कानुनले दिएको अधिकार प्रयोग गरेर तोकेपछि दुबै पक्षले मान्नुपर्छ ।’ 

अहिले श्रमिकले पाउँदै आएको मासिक १५ हजारमध्ये ९ हजार ३८५ रुपैयाँ न्यूनतम् पारिश्रमिक र ५ हजार ६१५ महँगी भत्ता छ । अब १ हजार ३०५ रुपैयाँ न्यूनतम् पारिश्रमिकमा र ८७० रुपैयाँ महँगी भत्तामा थप गरी २ हजार १७५ रुपैयाँ बढाउन लागिएको हो ।

न्यूनतम् पारिश्रमिकमा १ हजार ३०५ रुपैयाँ थप हुँदा अब न्यूनतम पारिश्रमिक १० हजार ६९० रुपैयाँ पुग्नेछ । महँगी भत्तामा ८७० रुपैयाँ थप हुँदा महँगी भत्ता ६ हजार ४८५ रुपैयाँ हुनेछ ।

यस अघि : मजदुर-मालिक बीचको तलब विवादमा 'अडान' तगारो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved