मलेसियन कम्पनीसँगको सम्झौतालाई लिएर वैरो संघका सल्लाहकारले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 08:14:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकार विमल ढकालले पदबाट राजीनामा दिएका छन् । संघको पूर्व अध्यक्ष समेत रहेका ढकालले बिहिबार राजिनामा दिएका हुन् । 

मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टरसँग अनुचित सम्झौता गर्न अनुमति दिने वैदेशिक रोजगार बोर्ड बैठकको निर्णयमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले हस्ताक्षर गरी सहमति जनाएको भन्दै पूर्वअध्यक्ष ढकालले सल्लाहकार पदबाट बिहीबार राजीनामा दिएको सार्वजनिक गरेका हुन् । वैरो संघमा निवर्तमान अध्यक्ष संघको पदेन सल्लाहकार हुने प्रावधान छ ।

राजीनामा पत्रमा ढकालले भनेका छन्, ‘हालै नेपाल सरकार वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकले मलेसियाको एफडब्लुडब्लुएमसी नामक कम्पनीसँग सम्झौता गरेको र त्यो सम्झौता गर्ने अनुमति दिने बोर्ड कार्यसमितिको कात्तिक २१ गतेको बैठकमा तपाईं स्वयंको उपस्थिति र निर्णयमा सहमति अत्यन्तै खेदजनक छ । तसर्थ त्यस्तो श्रमिक र व्यवसायी विरोधी सम्झौता जुन आफैमा राष्ट्रहित विपरीत छ, तपाईंको आफ्नै संलग्नता देखिएको र  त्यसका बारेमा अन्तिम समयसम्म ढाकछोप गर्ने प्रयास गरिएको तथा गल्ती स्वीकार गरी आम व्यवसायीसमक्ष क्षमायाचना गरी पद त्याग गर्ने पहल पनि नभएकोले यो काण्डमा प्रत्यक्ष परोक्षरूपमा तपाईंको संलग्नता छैन भन्ने अवस्था नरहेकाले यस्तो परिस्थितिमा संघको सल्लाहकारको रूपमा बसिरहन नैतिकरूपले नमिल्ने भएकाले आजैका मितिदेखि संघको सल्लाहकारबाट राजीनामा दिएको छु ।’



ढकालले सल्लाहकारको हैसियतले वैदेशिक रोजगारीमा जाने कामदार र व्यवसायीको हितका लागि पटक–पटक लिखित र मौखिक सल्लाह सुभाव दिएपनि संघ नेतृत्वले सोअनुसार काम नगरेको पनि दाबी गरेका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘वर्तमान संघ कार्यसमिति निर्वाचित भएपश्चात व्यवसायीको हक हितभन्दा व्यवसायी र श्रमिकलाई प्रतिकुल हुने निर्णय सरकारी पक्षबाट पटक–पटक भइरहेको र त्यस्तो निर्णय हुँदासम्म संघ कार्यसमिति त्यसलाई रोक्ने प्रयास त कता हो कता त्यसको विरोधमा एक शब्द पनि बोल्न नसक्नुलाई आफैंमा रहस्यमय भएको मैले महसुस गरेको छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved