अहिलेको ८ घण्टा 'लोडसेडिङ' स्वीकार्न किन डराइरहेका छन् कुलमान घिसिङ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2023 | 10:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख १२ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग उद्योगी, व्यवसायीको जम्बो टिमले भेट गर्यो । भेटको प्रमुख एजेण्डा थियो ‘औद्योगिक क्षेत्रमा भइरहेको दैनिक ८ घण्टाको लोडसेडिङ’ ।

 उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल नेतृत्वको उद्योगीहरुको टिमले अघोषित रुपमा भइरहेको लोडसेडिङले परिरहेको मर्काबारे केहीअघि मुख्यमन्त्री कार्कीलाई सुनाइसकेका छन् । उद्योगीहरुले सडक आन्दोलननै गरेर अघोषित रुपमा गर्नुभन्दा घोषित लोडसेडिङ गर्न माग नै गरेका थिए । 

अध्यक्ष प्याकुरेलले दैनिक ८ घण्टासम्म बिजुली कटौती भइरहेको र यसको पूर्व जानकारी नहुँदा उद्योगका उत्पादन बिग्रिनेदेखि मेशिन, औजारहरुसमेत बिग्रने गरेको दुखेसो पोखेका थिए । उनले आफूहरुले नियमित बिजुली दिन नसक्ने हो भने तालिका देउ मात्रै भनिरहेको तर, विद्युत प्राधिकरणको नेतृत्व उदासिन देखिएको आरोप लगाए ।

उद्योगीहरुको गुनासो सुनेपछि मुख्यमन्त्री कार्कीले यसबारे सङ्घीय सरकारको उर्जा मन्त्रालय र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेको जनाए । उनले लोडसेडिङको समस्या समाधानका लागि थप पहल गर्ने आश्वासन दिएका थिए । 

वैशाख १० गते मोरङ ब्यापार सङ्घको ब्यानरमा उद्योगीहरु ‘विद्युत आतङ्क विरुद्द्ध’ सडकमा उत्रिए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले बत्ती नआउने समयको तालिका माग गर्दा पनि प्राधिकरणले नसुनेको बरु उल्टै लोडसेडिङ होइन भन्दै मिडियाबाजी गरिरहेको आरोप लगाए ।

‘बत्ती आउने र नआउने समयको तालिका दिए बत्ती नआउने समयमा मजदुरलाई छुट्टी दिएर मेशिन बन्द गर्न सकिन्थ्यो’, उनले भने, ‘अहिले पूर्वसूचनाबिना झ्याप्प–झ्याप्प बिजुली काटिँदा मेशिन, औजार, घान हालेको कच्चा पदार्थ बिग्रने गरेको छ, उत्पादन घटेको छ, उद्योगको लागत बढेको छ ।’

उद्योगी पवन गोल्यान पनि उद्योगहरुले माग अनुसारको बिजुली नपाएको र बिहान बेलुका गरेर दैनिक ८ घण्टाभन्दा बढी समय बिजुली नपाइरहेको बताउँछन् । उद्योगले बिजुलीलाई मुख्य कच्चा पदार्थका रुपमा लिएर खपत गरिरहेको भए पनि पछिल्लो ४ महिनादेखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भइरहेको उनको भनाइ छ ।

औद्योगिक क्षेत्र उद्योग महासङ्घका उपाध्यक्ष बाबुराम पन्त पनि ४ महिनादेखि उद्योग क्षेत्रमा अघोषित लोडसेडिङ कायम रहेको बताउँछन् ।

उद्योगी पशुपति मुरारकाले पनि गत माघमै ट्वीट गर्दै ‘औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गरियो’ भनेका थिए ।

लोडसेडिङ फर्किने चेतावनी दिन्छन्, तर भइरहेको स्वीकार गर्दैनन् कुलमान

उद्योगीहरुले सडकमा उत्रिएर आन्दोलन थालेपछि विद्युत प्राधिकरणले अहिले देखिएको समस्या अल्पकालिन भएको बतायो । त्यसो त, कुलमान घिसिङ आफैँले १५ दिन समय मागेका थिए । घिसिङ वैशाख १० गते औद्योगिक करिडोरमा भइरहेको विद्युत् आपूर्तिको समस्या १५ दिनमा समाधान गर्ने जनाएका थिए । उनले मागेको १५ दिनको समय वैशाख २५ गते सोमबार पूरा भएको छ । तर, समस्या समाधान भएको छैन ।

आफूले माग गरेको समयमा समस्या समाधान पनि गर्न सकेका छैनन् भने औपचारिक रुपमा लोडसेडिङ नै हो भनेर तालिका दिन पनि उनी डराइरहेका छन् । 

‘लोडसेडिङका रुपमा परिभाषित गर्न मिल्दैन, अहिले केही प्राविधिक समस्या देखिएको हो, केही दिनमा समस्या समाधान हुन्छ’ कुलमान भन्छन् ।

त्यसो त, कुलमान आफैँले लोडसेडिङ फर्किने चेतावनी पनि दिँदै आएका छन् । 

गत पौषमा लप्सीफेदी सबस्टेशन निर्माणमा अवरोध बढेपछि आफैँ काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा पुगेका बेला घिसिङले ‘बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने अवस्थातर्फ प्राधिकरणलाई नधकेल्न’ चेतावनी दिएका थिए । 

‘काठमाडौं उपत्यकाको विद्युत माग सन् २०५० सम्ममा ३ हजार २ सय मेगावाट पुग्ने प्रक्षेपण गरेर काठमाडौँ वरिपरी र भित्री सडकमा २२० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार गरिरहेका छौँ, उपत्यकाभित्रै २० वटा सब–स्टेशन थप बनाउनु पर्नेछ, यसरी अवरोध हुने हो भने कसरी काम गर्नु ?’ पौष ९ गते फिल्डमै पुगेर कुलमानले भनेका थिए, ‘काठमाडौँ उपत्यकामा बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ ।’

यसरी, आफैँ लोडसेडिङको चेतावनी दिँदै हिडेका कुलमान अहिले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङलाई लोडसेडिङ हो भन्न सकिरहेका छैनन् ।

‘लोडसेडिङ हटाएको भनेर तारिफ कमाएको मान्छेलाई फेरि लोडसेडिङ सुरु भयो भन्न गाह्रो भएको होला’ एक जना उद्योगीले भने, ‘सरकारको लोकप्रीयताको कुरा पनि आउला, अहिले पनि सरकारले आलोचना खेपिरहेको छ, झन लोडसेडिङ सुरु भयो भनेर औपचारिक रुपमा भन्दिने हो भने आलोचनाको ग्राफ उकालो लाग्ने भएर पनि उहाँलाई अफिसियल जानकारी नदिन दबाब होला ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved