संचयकर्ताको लगानीमा बन्ने बेतन कर्णाली हाइड्रोले माग्यो उत्पादन अनुमतिपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 10:37:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले बेतन कर्णाली अर्थजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको लागि अनुमति पत्र माग गरेको छ। कम्पनीले विद्युत उत्पादन अनुमति पत्रको लागि विद्युत विकास विभागमा आवेदन दिएको हो । 

यस संगै विद्युत विकास विभागले प्रस्तावित वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र आफ्नो लिखित राय सुझाव दिन विभागले आग्रह गरेको छ। विभागका अनुसार विद्युत विकास विभाग वा कम्पनीको कार्यालयमा राय सुझाव पेश गर्न सकिने छ। 

कस्तो हो योजना ?

 ४३९ मेगावाट क्षमताको यस अर्थजलाशययुक्त आयोजनाले सुर्खेत जिल्लाको पंचपुरी नगरपालीकाको वडा नं. ५ र ७, चौकुने गाँउपालिकाको वडा नं. ४, ५ र ६ र अछाम जिल्लाको ढकारी गाउँपालिका को वडा नं. ५, ६, र ७ र तुर्माखाँद गाउँपालिकाको वडा नं. ३, ४, र ५ वडा प्रभाव पार्ने छ । कम्पनीले कर्णाली नदीमा बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरेको हो । प्रस्तावित आयोजनाको कुल जडित क्षमता करिब ४३९ मेगावाट हो ।

यसका लागि सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिका वडा नं. ६ र अछाम जिल्लामा पर्ने ढकारी गाउँपालिका वडा नं. ६ को सिमानामा बग्ने कर्णाली नदीमा करिब ९० मिटर अग्लो बाँध बनाईनेछ । सो बाँधका कारण कर्णाली नदीमा करिब ५.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १६१६.९५ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव सुक्खा समयमा करिब ५३६ घन मिटर प्रति सेकेण्ड र बर्खा याममा करिब ५५१.३३ घन मिटर प्रति सेकेण्ड हुने गरी ९९.१३ मिटरको कुल हेड प्रयोग गरी बार्षिक करिब २३६९.८८ गिगावाट घण्टा बराबरको उर्जा उत्पादन गर्ने गरि आयोजनाको डिजाईन गरिएको छ । बाँधस्थलबाट करिब २०१७.२६,२०११.१५ र २०१७.३९ मिटर लामो ३ वटा हेडरेस सुरुंग र करिब १५१.८ मिटर लामो ३ वटा पेनस्टक पाईप मार्फत पानीलाई ढकारी गाउँपालिका वडा नं. ६ मा बनाईने भूमिगत विद्युत गृहमा ६ वटा टर्वाईनमा खसालि विद्युत उत्पादन गरिनेछ ।

विद्युत उत्पादन पश्चात निस्काने पानीलाई करिब २९६.९२ मिटर लामा ६ वटा टेलरेस सुरुंगहरु र ४९६.२७ मिटरको खुल्ला निकास नहर) पुनः कर्णाली नदीमा नै छोडिनेछ । 

यस आयोजनाबाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् ।कम्पनीका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् ।

आयोजनाबाट अछामका ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतका चौकुन गाउँपालिका र पञ्चपुरी नगरपालिका प्रभावित हुनेछन् । तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी छ। यसबाट तीन सय ३८ निजी घर संरचना प्रभावित हुनुका साथै ३५ जना व्यापार व्यवसायबाट विस्थापित हुने छन्। आयोजना निर्माणबाट तीन झोलुङ्गे पुल, एउटा लघु जलविद्युत, एउटा मन्दिर, आठ खानेपानी धारा र दुई सिँचाइ कूलो प्रभावित हुनेछन् । 

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १०, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ ।

आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत सङ्घीय सरकार राख्ने सहमति भएको छ ।

आयोजना २०८८ भदौ १ गते सम्पन्न हुने अनुमान छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved