यस्तो छ देशै तरंगित पारेको मणिपाल घटनाको वास्तविकता : ग्राउण्ड जिरो रिपोर्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 02, 2023 | 12:56:12 PM मा प्रकाशित

laxmi  sunrise bank

'आज केहि अप्रिय घटना घट्न सक्छ भनेर मैले बिहानै अस्पतालका सुरक्षा प्रमुखलाई जानकारी गराईसकेको थिए, हेर्नुस त नभन्दै डाक्टर कुटिए। अब त झन् के के पो हुने हो, तपाइँहरु पनि सतर्क रहनुहोला' पोखरा स्थित मणिपाल टिचिंङ अस्पतालको एक सुरक्षाकर्मीले डाक्टर कुटिने बित्तिकै बोलेको कुरा हो यो। 

असोज ८ गते सोमबार मणिपाल अस्पतालमा बिहान करिब ९ बजे डाक्टरलाई कुटिएको बिषयलाई लिएर जे जस्ता घटना भए, ति सबै यी सुरक्षाकर्मीले आंकलन गरेजस्तै भएका थिए।  बिहान करिब ९ बजे मणिपाल अस्पतालको आइसियु वार्डमा राखिएका बिरामी हेर्न आएका डाक्टर अनिल अग्रवालमाथि आक्रमण भएको हो। आइसियु वार्डमा भेन्टिलेसनमा राखिएका ५७ वर्षीय सुकमाया दुराको मृत्युपछि आक्रोसित बिरामी पक्षका एक जनाले डाक्टर अग्रवाललाई कुटेपछि नै पछिल्ला सबै घटनाको जन्म भएको हो। 

डाक्टरको लापरबाहीले आफुहरुले आफ्नो आफन्त गुमाउनुपरेको भन्दै बिरामी पक्षहरु डाक्टर कुटेपछि पनि आफ्नो आक्रोश व्यक्ति गरिरहेका थिए। त्यहि आक्रोश व्यवस्था गर्न अस्पताल भित्रकै सुरक्षा टोलि र अस्पतालको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीका बर्दी बिनाका प्रहरीले नसकेपछि त्यहाँ पोखराको बगर स्थिति प्रहरीको टोलि झिकाईयो। 

बिरामी पक्ष, बिरामी पक्षका डाक्टर कुट्ने व्यक्ति, बगरस्थित प्रहरीको नेतृत्त्व गरेर आएका नेतृत्त्व प्रमुख, मणिपाल अस्पतालका व्यवस्थापन प्रमुखबीच डाक्टर कुटिएको भन्दा ठिक एक तला मुनिको कोठाभित्र सम्बाद थालियो। अस्पतालका निर्देशक प्रोफेसर डाक्टर अभिशेक मास्केको कोठामा चलेको करिब एक घन्टे लामो छलफलमा सम्भवत: त्यहाँ केहि बिषयमा सहमति बनेको थियो। 

तर डाक्टर कुटिएको बिषय सहमतिमै सक्न खोजिएको भन्दै जब अस्पताल भित्रकै डाक्टर, नर्स, इन्टरनहरुले छलफल चलिरहेको निर्देशक मास्केको कोठा घेर्न पुगे, तब अस्पताल आन्दोलनमय बन्न पुग्यो। प्रहरीले यस अगाडी पनि डाक्टर कुटेकालाई कुनै कारबाही नगरेकाले यस पटक आफुहरु पछाडी नहट्ने डाक्टरहरुको अडान कायम रह्यो। जसले गर्दा त्यहाँको सुरक्षा व्यवस्था झनै जटिल बन्दै गयो। 

आन्दोलनमा उत्रिएका चिकित्सकको टोलिले डाक्टर कुट्नेलाई कडा कारबाही हुनुपर्ने माग राखेर आन्दोलन चर्काउन थालेपछि बाहिर पनि बिरामी पक्षको संख्या बढ्दै गयो।  दिउँसो करिब १ बजेसम्म शान्त जस्तै देखिएको आन्दोलन चिकित्सक पक्ष र बिरामी पक्ष नै एक आपसमा भिड्न थालेपछि दिउँसो करिब ३ बजेतिर मणिपाल अस्पताल युद्द मैदान जस्तै बन्न पुग्यो। जस कारण सुरक्षा व्यवस्था मिलाउन डिएसपीको नेतृत्त्वमा थप प्रहरी थपिए। 

बिरामी पक्षबाट आएका भनिएकाको संख्या १०-२० हुँदै सयौंको हाराहारीमा पुग्यो भने चिकित्सकले पनि बाहिरबाट समेत थप डाक्टर र इन्टन डाके। जसले गर्दा दिनको ५ बजेतिरसम्म मणिपाल अस्पताल उपचार गर्ने अस्पताल नभई युद्द लड्ने खुला मैदान बन्न पुग्यो। जहाँ डाक्टर र बिरामी पक्षबीच सुन्नै नसकिने गालिगलौज मात्र नभई थाम्नै नसकिनेगरि पानीका बोत्तल, ढुंगा, कुर्ची हानाहानको अवस्था बन्यो। 

डिएसपी बेद राज जोशीको कमाण्डमा रहेको प्रहरीको टिम त्यहाँ कुनै झडप नहोस भन्नेमा देखिन्थ्यो।  डाक्टर र बिरामी पक्षलाई मिलाउनलाई प्रहरीले अस्पताल प्रशासनको सहयोग लिनलाई कुनै कन्जुस्याई नगरेको त्यहाँको दृश्यले देखाउथ्यो। डिएसपी जोशीको कमाण्डमा काम गरिरहेका इन्स्पेक्टर विकास श्रेष्ठले डाक्टर र बिरामी पक्षबीच झडप हुँदा अस्पतालमा उपचारका लागि आएकाहरुको पनि सुरक्षा जोखिममा पर्ने भन्दै सबैलाई मिलाउने प्रयास गरिरहेका थिए। 

डाक्टर कुट्ने व्यक्तिलाई प्रहरीले पक्रेर लैजानुपर्ने तर डाक्टरले पिट्न नपाउने बिरामी पक्षबाट आएका भनिएका केटाहरुको समुहको माग देखिन्थ्यो भने डाक्टर कुट्ने व्यक्तिलाई कडा कारबाहि हुनुपर्ने चिकित्सक  पक्षको माग देखिन्थ्यो। प्रहरीको टोलिले पनि डाक्टर कुट्नेलाई कानुनअनुसारको कारबाही हुने प्रतिबद्दता जनाएका थिए। तर कानुन नै कम्जोर भएकाले डाक्टर कुट्ने मान्छेलाई कुनै कारबाही नहुने भन्दै कम्तिमा डाक्टर कुट्नेलाई आत्मग्लानि हुने गरि कुनै पनि किसिमको कारबाही गर्न पाउनुपर्ने चिकित्सक पक्षको अडान रहिरह्यो। जसले गर्दा निर्देशक मास्केको कोठामा राखिएका बिरामी कुट्ने बिनय गुरुङ र उनको साथमा रहेकी महिलालाई प्रहरीले मूल ढोकाबाट बाहिर लैजान सकिरहेको थिएन। 

जस कारण इन्स्पेक्टर विकास श्रेष्ठको नेतृत्त्वको प्रहरीको टिमले डाक्टर कुटेको आरोप लागेका गुरुङ र उनको साथमा रहेकी महिलालाई बेलुका करिब ७ बजेतिर पछाडीको ढोकाबाट बाहिर लिएर गयो। बिरामी पक्षबाट आन्दोलनमा उत्रिएका झन्डै डेढ दुई सय केटाहरुको टोलि पनि अस्पताल बाहिर निस्कियो। तर डाक्टर कुट्ने व्यक्तिलाई प्रहरीले स-सम्मान 'चोरबाटो' बाट लगेको आरोप लगाउदै चिकित्सकको टोलि थाम्नै नसक्नेगरि आक्रोसमा उत्रियो। 

डाक्टरहरुको यो आक्रोस  इन्स्पेक्टर मदन श्रेष्ठको नेतृत्त्वमा रहेको ५० औं प्रहरीमाथि भारि पर्यो। बेलुका करिब ७.३० मा डाक्टर, इन्टरन र नर्सको एउटा टोलि 'डाक्टर कुट्ने गुण्डालाई किन छुटायौ' भन्दै श्रेष्ठको नेतृत्त्वमा रहेको प्रहरीमाथि थप आक्रोशित बन्यो। र एक जना व्यक्तिले मदन श्रेष्ठमाथि हात नै उठाए। जस कारण इन्स्पेक्टर मदन श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको ५० औं प्रहरीलाई लाठि चार्जको आदेश दिए। 

श्रेष्ठको आदेशको पालना गर्दै ती ५० औं प्रहरीले डाक्टर, इन्टर्न, नर्स, बिरामी कुरुवा, बिरामी कोहि नभनि त्यहाँ अगाडी आउने सबैमाथि लाठि चार्ज गरे। मणिपाल अस्पताल भित्रको सामान्य बिरामी राख्ने वार्ड परिसरमै छिरेर श्रेष्ठको नेतृत्त्वको प्रहरीले भेटेजति सबैमाथि लाठि चार्ज गरे। लाठि चार्जका कारण कयौं इन्टर्न, बिरामी कुरुवा र केहि डाक्टरको टाउको तथा शरीरमा गम्भीर चोट समेत लागेको छ। मणिपाल अस्पतालमा बर्दी बिना डियुटीमा खटिएका 'हवल्दार' खगेन्द्र पन्तले लाठि चार्ज घटनाको फाइदा उठाउदै बिरामी कुरुवामाथि 'डाक्टरलाई सपोर्ट' गर्ने भन्दै हात सफाइ समेत गर्न भ्याए। 

डाक्टर कुटेको घटना रणभूमिमा परिणत हुँदाको असर अहिले चौतर्फी देखिएको छ। यस घटनामा सुरक्षाको जिम्मेवारी सम्हालेका मध्ये इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बनमा परेका छन् भने आफ्नो कार्यक्षेत्र भन्दा बाहिरको कमाण्ड सम्हालेको आरोपमा बैदाम प्रहरी प्रमुख वेदप्रकाश जोशी हेडक्वाटर तानिएका छन्। यता डाक्टर कुटेको आरोपमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ पक्राउ परिसकेका छन्। डाक्टर कुटेको आरोप लागेका विनय गुरुङको मुद्दा अगाडि बढिरहेको छ भने डाक्टर र सरकारपक्षबीच सर्त सहित ६ बुँदे सहमति भएको छ। 

भारतीय समुहबाट मणिपाल अस्पताल खरिद गरेको पोखरेली व्यवसायी समुह बतास ग्रुपले मणिपाल घटनामा  आफन्तको आन्दोलनमा घुसपैठ भएको भन्दै यो घटनालाई थप अनुसन्धान गरेर स्वास्थ्य संस्थामा मौलाएको अराजकता बन्द गर्न नेपाल सरकारमाथि दबाब दिइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved