फरच्युना हेल्थ केयरद्वारा नेपालमै गुणस्तरीय सिरिञ्ज उत्पादन सुरु गरेको छ । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिन्ज उद्योग सञ्चालनमा ल्याएका हुन् । उक्त उद्योगको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।
उद्घाटन गरेसँगै फरच्युना ब्राण्डका सिरिञ्जको बिक्रि वितरण समेत सुरु भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रा.ली.का अध्यक्ष राणाले जानकारी दिइन् । अध्यक्ष राणाले नेपालको औद्योगिक क्षेत्र र गुणस्तरीय स्वास्थ्य उपकरणको अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताइन् ।
नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिन्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगको रहेको भन्दै उनले नेपालमा वार्षिका रुपमा १७ भन्दा बढी मुलुकबाट ५७ करोड ८३ लाख भन्दा बढीको सिरिञ्ज आयात भएको तथ्यांकसमेत प्रस्तुत गरिन् । राणाले एक वर्षमा ६ करोड ४७ लाखको संख्यामा सिरिञ्ज भित्रिए पनि गुणस्तर परिक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीहरुले दुःख पाइरहेको बताएकी छिन् । उनले तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने उद्योगको लक्ष्य रहेको बताइन् ।
उनले विभिन्न देशबाट उच्च गुणस्तरीय कच्चा पदार्थ आयात गरी सिरिञ्ज उत्पादन गरिएको बताउँदै फरच्युना हेल्थकेयरमार्फत उत्पादन हुने सिरिन्जले विश्व स्वास्थ्य संगठनबाट समेत मान्यता लिइसकेको जानकारी दिएकी छिन् । राणाले नेपालमा गुणस्तरीय सिरिञ्ज उत्पादन सुरु भएकाले कम गुणस्तरका उपकरणहरु आयातमा प्रतिबन्ध लगाउनसमेत माग गरेकी छिन् ।
कोभिड अघि नै उद्योग सञ्चालनको तयारी भए पनि कोरोनाका कारण विदेशबाट आवश्यक सामान आयात गर्न ढिलाइ हुँदा उद्योगको सञ्चालनमा पनि ढिलाई हुन गएको र लागत पनि बढेको सञ्चालक भरतराज आचार्यको भनाइ छ ।
फरच्युनाहेल्थ केयर प्रा.ली. उद्योग स्थापना तथा उत्पादन विविधिकरणका लागि ८० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ। उद्योगमा अहिलेसम्म ५० करोड लगानी भइसकेको जनाइएको छ । उद्योगले उत्पादन गर्ने सिरिञ्जको आइएसओ स्ट्यान्डर्ड समेत पूरा गरेको छ ।