उद्योगमा 'लोडसेडिङ' सुरु, भारतबाट पुग्ने गरि बिजुली नकिन्ने रणनीतिमा कुलमान

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 26, 2024 | 11:14:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ सुरु गरेको छ । यसअघि पनि अघोषित रुपमा लोडसेडिङ गरेको प्राधिकरणले यो बीचमा बक्यौताको विवाद झिकेर उद्योगमा बिजुलीको लाइन नै काटेको थियो । उद्योगमा काटेको लाइन जोडेपछि पनि फेरि प्राधिकरणले बिहान र बेलुका गरेर ८ देखि १० घण्टासम्म लोडसेडिङ गरेको हो ।

अहिले औद्योगिक उत्पादनको सिजन भए पनि प्राधिकरणले नियमित विद्युत नदिँदा उद्योगीहरु हैरान भएका छन् । सुनसरी–मोरङ करिडोरमा प्राधिकरणले दैनिक ८ घण्टा विद्युत कटौती गरिरहेको यो क्षेत्रका उद्योगीहरु बताउँछन् ।

विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले पूर्व सूचना बिना नै उद्योगहरुमा लोडसेडिङ गरिरहेको बताए । उनका अनुसार विराटनगर र बीरगञ्ज क्षेत्रका उद्योगहरुमा दैनिक ८ देखि १० घण्टा लोडसेडिङ छ । 

‘काटिएको लाइन सरकारको निर्णय अनुसार जोडिएको दुइ तीन दिनमै प्राधिकरणले लोडसेडिङ गर्न सुरु ग¥यो’ उद्योगी अग्रवालले भने, ‘किन यस्तो भयो भनेर वितरण केन्द्रका कर्मचारीसँग बुझ्दा हामी मिलाउँदैछौँ भन्छन्, लाइन जाँदैछ भनेर पूर्व सूचना पनि दिएको छैन । साह्रै अफ्ट्यारो परेको छ ।’

यस्तै, बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा पनि दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको छ । उद्योगी विकास गोयन्काका अनुसार भैरहवा क्षेत्रका उद्योगहरुमा विहान र बेलुका गरी ८ घण्टा लोडसेडिङ भइरहेको छ । विद्युत प्राधिकरणको बुटवल ग्रिडबाट विद्युत उपभोग गरिरहेका ग्राहकहरुलाई प्राधिकरणले ‘ह्वार्टस् एप’मा म्यासेज (सन्देश) पठाएर ‘पिक आवर’मा उद्योग नचलाउन भनेको छ । 

उक्त ‘व्हाट्सएप’ म्यासेजमा सुख्खा याममा खोलामा पानीको वहाव घटेसँगै विद्युत उत्पादनमा कमी आएको हुनाले औद्योगिक फिडरहरुलाई बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ९ बजेसम्म ‘लाइटिङ लोड’ मात्र सञ्चालन हुने भनिएको छ । 


प्राधिकरणले पठाएको म्यासेज


प्राधिकरणले लोडसेडिङ अन्त्य गरेको ६ वर्ष हुन लाग्दा पनि अझै हिउँदमा उद्योगहरुमा लोडसेडिङ हुन छोडेको छैन । तर, प्राधिकरण यसलाई लोडसेडिङ हो भनेर मान्न तयार छैन । 

‘प्राधिकरण लोडसेडिङ हो भनेर स्वीकार गर्दैन, उसले तालिका दिए पो यो समयमा बिजुली आउँछ, यो समयमा जान्छ भनेर त्यसै अनुसार काम गर्नु हुन्थ्यो, यो पनि दिँदैन’ उद्योगी अग्रवालले भने, ‘ट्रिपिङ (बिना कुनै पूर्व जानकारी झ्याप्प–झ्याप्प बत्ती जाने समस्या)को समस्या यति छ कि, कुरौ नगरौँ ।’

‘लाइटिङ लोड’मा बस्न भनेर उद्योगहरुलाई पठाएको म्यासेजभन्दा फरक समय (प्राधिकरणले बिजुली दिने समय)मा पनि स्वीकृत लोड अनुसारको बिजुली नदिएको उद्योगीहरुको गुनासो छ ।

‘हाम्रो स्वीकृत लोड २० मेगावाट हो, तर प्राधिकरणले आधा मात्रै दिइरहेको छ’ एक जना उद्योगीले भने । 

यता प्राधिकरणका अधिकारीहरुले भने करिब माग अनुसार ५ हजार मेगावाट आवर बिजुली कम भएकाले उद्योगमा लोडसेडिङ गर्नु परेको बताएका छन् । अहिले दैनिक ३४ हजार ६५० मेगावाट आवर भन्दा बढी विद्युत माग रहे पनि आन्तरिक उत्पादन र भारतबाट आयात भएको जोड्दा ३० हजार मेगावाट हाराहारीमा मात्रै विद्युत उपलब्ध भइरहेको अधिकारीहरु बताउँछन् । 

‘डोमेस्टिक प्रोडक्शन प्लस इन्डियाबाट आएको जोड्दा पनि झण्डै ५ हजार मेगावाट आवर जति बिजुली अपुग छ’ प्राधिकरण स्रोत भन्छ, ‘त्यसैले उद्योगहरुले भने जति बिजुली दिन सकिएको छैन ।’

त्यसो त, भारतबाट ल्याएर बिजुली दिन समस्या नभए पनि प्राधिकरणले अहिले माग पूरा हुने गरी भारतबाट बिजुली ल्याउन नचाहेको बताइन्छ । भारतबाट पिक समयमा बिजुली किन्दा महँगो पर्ने र महँगोमा आयात गरेर उद्योगलाई सस्तोमा दिनुभन्दा बरु बिजुली नै नकिनेर उद्योगलाई लोडसेडिङमा राख्ने रणनीतिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देखिएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । 

पिकटाइममा केहि समस्या हो, समाधानको प्रयास जारी छ : प्राधिकरण 

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले पिक टाइममा केहि समस्या भए पनि ८/१० घण्टा निरन्तर बत्ति नकाटिएको दाबी गरे। बिहारबाट विजुली आयात गर्ने गरिएकोमा बिहारले अहिले दिउँसो मात्र विद्युत पठाउन थालेकोले पूर्वका उद्योगमा केहि समस्या भएको उनले बताए । उनका अनुसार प्राधिकरणले इनर्जी एक्सचेन्ज मार्केटबाट थप विजुली खरिद गर्न प्रस्ताव गरिसकेकोले यो समस्या छिट्टै समाधान हुने छ । भारतको इनर्जी एक्सचेन्ज मार्फत कटैया तथा  रक्सौल हुँदै विद्युत खरिद गर्ने प्रस्ताव गईसकेकोले केहि दिन मै सहज विद्युत आपूर्ति हुने उनले उल्लेख गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved