ठूला कम्पनीको भन्दा लघु बीमकको प्रिमियम दर धेरै नै सस्तो छ (सीइओ रिमालको अन्तर्वार्ता)

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Apr 09, 2024 | 02:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले गत वर्ष ७ वटा कम्पनीलाई लघुबीमा व्यवसायका लागि लाईसेन्स प्रदान गर्यो । सिमान्तकृत, पिछडिएका  र गरिवीको  रेखामुनि रहेका वर्गका बीमाको पहुँच पुर्याउने लक्ष्यसहित लघु बीमकको अवधारणा प्राधिकरणले गर्यो । सोहि अनुसार ३ वटा जीवन र ४ वटा निर्जीवन गरी जम्मा ७ वटा कम्पनीले लघु बीमकको मान्यता पाए ।

यसरी, लाईसेन्स पाएका बीमकहरुले व्यवसाय पनि सुरु गरिसकेका छन् । निर्जीवन तर्फको लघु व्यवसाय गर्न लाईसेन्स पाएको मध्य एक हो नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी ।

बिजपाटी डटकमले कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालसँग लघु बीमा, लघु बीमाको दायरा र समग्र लघु व्यवसायको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ सीईओ रिमालसँग गरिएको कुराकानीको सम्पादित अंशः

निर्जीवन लघु बीमा कस्तो खालको बीमा हो ?

सिमान्तकृत वर्गमा पुग्ने र उनीहरुलाई सेवा दिने उदेश्यले सरकारले ल्याएको लघु बीमा कम्पनीको अवधारण ल्याएको हो । ठूला कम्पनीहरु ठूला रकमको बीमा पोलिसिमा फोकस हुँदा गरिब र सिमान्तकृत वर्गहरु बीमाको पहुँच बाहिर भएकाले उनीहरुलाई समेट्न लघु बीमाको अवधारण विकास गरिएको हो । 

सिमान्तकृत वर्गलाई उनीहरुकै ठाउमा पुगेर बीमाको सेवा उपलब्ध गराउने भनेर लघु बीमा कम्पनीलाई सरकारले लाईसेन्स दिएको हो । हाल नेपालमा ३ जीवन र ४ निर्जीवन गरी ७ वटा लघु बीमा कम्पनीहरु छन् । 

निर्जीवन बीमकको दायरा के के छ ?

निर्जीवन लघु बीमकलाई सिमान्तकृत वर्गमा पुगेर काम गर्न सजिलो पक्कै पनि छैन। अरुले नसमेटेको क्षेत्रमा गएर सेवा पुर्याउनु छ । यहाँ चुनौति धेरै छ। तर यो कुरालाई राम्रो एड्रेस गर्न सकियो भने यसको अवसरहरु पनि म राम्रो देख्दछु। सरकारले ५० लाख बीमांकको दायरा तोकेको छ। त्यस अनुसार हामी सहित निर्जीवन लघु बीमक लागेका छौ। 

धेरैले लघु बीमा भनेको लघु वित्तजस्तै हो कि भन्ने कन्सेप्टहरु पनि रोखेका छन् । तर, लघु वित्त र लघु बीमामा फरक छ । लघु कर्जाको लघु बीमाले सुरक्षण प्रदान गर्ने हो । ५० लाख मुनिका जति पनि कर्जा हुन्छन् ति सबैलाई लघु बीमाले सूरक्षण प्रदान गर्दछ । 

पिछडिएका वर्गलाई कन्भिन्स गरेर बीमाको दायरामा ल्याउन कति चुनौति छ ?

यो एकदम चुनौतिपूर्ण छ । जुन सिमान्तकृत तथा पिछडिएका वर्ग हामीले भनि रहेका छौँ उनीहरुमा हामीले जागरण ल्याउन अत्यावश्यक छ । हामीले स्थानिय तहमा नै गएर उनीहरुलाई समुह बनाएर लघु बीमा के हो, लघु बीमा किन गर्ने, यसका फाईदा, लघु बीमा गर्दा पाइने सहुलियत लगायतको बारेमा हामीले जागरुक गराउन सक्नु पर्छ । यसैगरी उनीहरुको सम्पतिको सुरक्षा हामीले दिन सक्छौँ भनेर सन्देश दिन सकियो भने अवश्य पनि उहाँहरु यसमा आकर्षित हुनुहुन्छ । 

हामीलाई बिजनेश दिने हाम्रा ग्राहकगरी विशेषगरी लघु कर्जा वितरण गर्ने वित्तीय संस्थाहरु हुन् । जस्तै, विकास बैंक, लघु वित्त, सहकारी । त्यसकारण उनीहरुको दायरामा लघुबीमा परेको छ । 

हामीले पनि नयाँ ग्राहक बनाउन पर्छ । हामी स्थानिय तहमा जानु पर्यो । कन्भिन्स गर्नु पर्यो । ठूला कम्पनीहरुको भन्दा लघु बीमकको प्रिमियम दर सस्तो छ । त्यस कुरालाई बुझाउन सकियो भने उनीहरु कन्भिन्स हुन्छन् । 

व्यक्तिगत रुपमा कस्ता मानिसहरु निर्जीवन बीमामा जोडिन आउँछन् ?

हामीले सिमान्तकृत वर्गको कुरा गरिरहँदा उहाँहरु विशेषगरी गाउँमा बस्नुहुन्छ । ५० लाखको सिमाभित्र रहेर सम्पति, दुर्घटना लगायतको बीमा गर्न सकिन्छ । तर, ठूलाको भन्दा लघुले लिने प्रिमियम धेरै सस्तो छ । सम्पति बीमामा ठुलाले लिने प्रिमियमको आधाको पनि आधा कम प्रिमियम लिएर लघु बीमकले सेवा दिन सक्छ । 

त्यसैगरी, चोरी डकैतिको पनि हामी बीमा गछौँ । कृषि बीमा चै अहिले लघु कम्पनीले गरेको छैन । नियामक नेपाल बीमा प्राधिकरणले कृषिको प्रोडक्ट लघु बीमकका लागि बनाउने तयारी गरेको छ । लघुका लागि कुन चै उपयुक्त हुन्छ  भनेर प्रधिकरणले अध्ययन गर्दै छ । 

ठूला बीमा कम्पनी भन्दा लघु निर्जीवको प्रिमियम कति सस्तो छ?

सबै पोलिसिमा लघुमा सस्तो छ भन्ने होइन । जस्तो कि मोटर बीमामा ठुला कम्पनी र लघुको प्रिमियम एउटै हो । तर, सम्पति बीमामा लघु बीमाको प्रिमियम दर ठुलाको भन्दा धेरै कम छ  । ठूलाको भन्दा आधा होईन, आधाको पनि आधा प्रिमियममा लघुबीमाले बीमा गरिदिन्छ । त्यसैगरी, दुर्घटना बीमामा पनि लघुले लिने प्रिमियम एकदम सस्तो छ । 

लघु बीमामा लघु बीमक र ठुला बीमकको प्रतिस्पर्धा कस्तो छ ?

प्रतिस्पर्धा भएको छ पनि , प्रतिस्पर्धा भएको छैन पनि । ठूलाको बीमांक रकम असिमित छ । उहाँहरुले जतिपनि गर्न सक्नुहुन्छ । हाम्रो सानो दायरा छ । यसो हुँदा साना कम्पनीको उहाँहरुसँग प्रतिस्पर्धा नै होईन  । ठूलाले समेट्न नसकेको क्षेत्रमा लघु बीमक जान खोजेको हो । 

तर, मोटर बीमामा भने प्रतिस्पर्धा छ । विशेषगरी थर्डपार्टी बीमामा हाम्रो प्रतिस्पर्धा छ । हामीलाई पनि सस्टेन हुनका लागि मोटर बीमाले धेरै सहयोग गरेको छ । यसमा मात्रै हो प्रतिस्पर्धा । अन्यमा प्रतिस्पर्धा छैन । 

व्यक्तिगतरुपमा बीमा गर्न चाहनेहरु लघु निर्जीवन बीमासँग कसरी जोडिन सक्छन् ?

गाडी तथा मोटरसाईकलको हकमा यातायात कार्यलयमा हाम्रो काउन्टर हुन्छ । त्यहाँबाट बीमा गर्न सक्नुहुन्छ । यसको मतलब हामीले केहि गर्नै पर्दैन भन्ने होईन । हामीले त्यसका लागि बजार व्यवस्थापन गर्न ज्यादै जरुरी छ । आ आफ्ना बजारमा गएर कन्भिन्स गर्न हामीले कर्मचारी पठाउँछौ । लघु व्यवसाय गर्नेहरुमा कर्मचारी पठाएर कन्भिन्स गराउँछौ । 

नेपाल माईक्रोको सञ्जाल विस्तार कसरी गरिरहनु भएको छ ? 

नेपाल माईक्रोले पूर्वको ईटहरीदेखि लिएर पश्चिमको महेन्द्रनगरसम्म सञ्चाल विस्तार गरेको छ । पूर्वदेखि सूदूरपश्चिमसम्म नेपाल माईक्रोको ११ वटा कार्यलयहरु छन् । यस्तै यातायात कार्यलयमा एक्टेन्सन काउन्टर ११ वटा रहेका छन् । जम्म २२ वटा कार्यलय विस्तार भईसकेका छन् । निकट भविष्यमा नै झापाको विर्तामोड र मोरङको विराटनगरमा हामीले शाखा विस्तार गर्दै छौँ ।  

मोटरको पुलमा जाने बारेमा यहाँको धारण के छ ?

मोटर बीमाले लघुलाई सस्टेन हुन मद्दत गरेको छ । सरकारले पनि हामीलाई यसमा ईन्करेज गरेको छ । अहिले मोटर बीमाको पुलमा लघु निर्जीवन पनि जाने हो भने लघुलाई गाह्रो पर्न सक्छ । यसको मतलब हामि पुलमा जान डराएको भने होईन । पुलमा जाँदा शेयरीङ्ग पनि हुन्छ हुन त । 

एक करोडको पोलिसिलाई २ टुक्रा बनाएर बेच्ने गरेको आरोपबारे के भन्नु हुन्छ ? 

एक करोडको बीमा गर्न कोहि आयो भने ५०, ५० लाखको बनाएर २ वटा पोलिसि जारी गरेर बेच्छन भन्ने आरोप विल्कुलै गलत छ । अहिले सम्म त्यस्तो भएकै छैन । नियामकले हामीलाई वाच गरिरहेको हुन्छ । हामीले आफ्नो दायरा भन्दा बढी त गर्दै गर्दैनौँ ।

नेपाल माइक्रोमा दाबी भुक्तानी कति सहज छ ?

दाबी भुक्तानी कसरी सहज बनाउने भन्ने कुरामा हाम्रो प्रयास जारी छ । नयाँ कम्पनीले दाबी भुक्तानीमा नै ढिलाई गर्न थाले भने, समयमा भुक्तानी दिन सकेनौँ भने, मोडिफाई गरेर दिन खोज्यौ भने हामी कहिले पनि सस्टेन हुन सक्दैनौ। हामीले जति सक्दो छिटो दाबी भुक्तानी दिनु पर्छ । यसको मतलब कुनै फाईल नै नहेरि दिने भन्ने होइन । सर्भेयरले ल्याएको रिपोर्टका आधारमा हामीले छिटोभन्दा छिटो दाबी भुक्तानी दिने हो । र दिई पनि रहेका छौँ । हाम्रा ग्राहक पनि खुसी हुनु भएको छ। उहाँहरुले कति छिटो दिनुभयो भनेर भन्नु पनि हुन्छ । यसले हाम्रो मार्केटिङ पनि भएको छ । 

प्रविधिको प्रयोग कत्तिको गर्नु भएको छ ? 

अहिलेको बजारमा प्रविधि बिना कुनै पनि कम्पनी अधि बढ्न सक्दैन । हामीले दिर्घकालका लगि सफ्टवेर तयार गर्न लागिरहेका छौ। अल्पकाका लागि अहिले भईरहेको सफ्टवेयरलाई लिएर हामीले कार्य गरिरहेका छौ। जसले गर्दा दाबी भुक्तानी र पोलिसि काट्न पनि सजिलो भएको छ । हाम्रो प्रविधि विकास भएपछि मोबाईलबाट नै बीमा गर्न देखि दाबी भुक्तानी दिनेसम्मका व्यवस्था हुन्छ । 

बैंकिङ क्षेत्रबाट बीमा क्षेत्रमा आउँदा कस्तो अनुभव भईरहेको छ ? 

मज्जाको अनुभाव लागि रहेको छ । बैंक र बीमा दुवै वित्तीय क्षेत्र हुन । बीमा र बैंकको फ्युजन भइरहेको छ । जुन हाम्रा ग्राहक हुन् ति त हामीले बैंकमा पनि भोगरे आएको हो । कृषि विकास बैंकमा म हुँदाखेरि साना किसान आयोजनाहरु, माईक्रो क्रेडिटहरु हामीले  सुरु गरेका हौँ । त्यस बेला जनता जनतासँग भिजेको हो । समूह गठन गरेर गएको हो । त्यो किसिमको अनुभव र बैंकको विभिन्न पोस्टमा रहेर गरेको क्रियाकलापले गर्दा अहिले ग्राहक पहिचान गर्न, ग्राहकको समस्या बुझ्न मद्दत पुगेको छ ।

नीतिगत सुधार के आवश्यक छ ? 

सबैलाई एउटै बास्केटमा राख्नु भएन । लघु बीमकहरु पनि बजारमा आईसेका छन् । यीनीहरुलाई कसरी हुर्काउने भन्ने सरकारको पनि दायीत्व हो । लघु बीमा सरकारले निमुखा जनतालाई एड्रेस गर्नलाई नै ल्याएको हो । त्यसका लागि सकारले विभिन्न सचेतनामुलक क्रियाकलापमा साथ दिनु पर्यो । ठूला कम्पनीलाई भन्दा लघुलाई छुटको दायरामा ल्याउनु पर्यो । 

हेर्नुस् भिडियो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved