आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ । लघुवित्तले आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । तर लघुवित्तको आईपिओमा माग भन्दा धेरै गुणा आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पाइने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु अनुपयुक्त देखिन्छ।
शेयर निष्काशनको लागि एनआईबीएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले बैशाख ३ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा कमजोर रहेको देखाउछ।
आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ । कम्पनीको अधिकृत पूँजी १५ करोड रहेको छ ।
२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ ।