आँधीखोला लघुवित्तले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गर्न लागेको हो ।
आईपिओमा करिब ३ लाख ८ हजार ४ सय ५ आवेदकबाट ५४ लाख ५७ हजार २ सय ४० कित्ताको लागि आवेदन परेको छ । लघुवित्तले गत आइतबार देखि ४ करोड रुपैया बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र २० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।
माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाउने छन् । बाँकि करिब २ लाख ७० हजार आवेदक भने हात खाली हुने छन ।
हाल आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ । कम्पनीको अधिकृत पूँजी १५ करोड रहेको छ ।
२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ ।