नेपाल धितोपत्र बोर्डमा नयाँ कर्मचारी युनियनको जन्म भएको छ । यस अघिसम्म बोर्डमा सबै कर्मचारीको एउटा साझा युनियन रहेकोमा अब भने पार्टी विशेष युनियनको उदय भएको हो ।
बोर्डका उच्च ब्यबस्थापकिय नेतृत्वको चाहना र समर्थन मै नयाँ संगठन आएको बोर्ड स्रोतले जनाएको छ । 'नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन ' नामको संगठन बोर्डमा आउने भएको हो । यो युनियन सत्तारुढ दल नेकपा निकट कर्मचारीहरुको संगठन हो ।
संगठनले असार ८ गते श्रम कार्यालयमा संगठन दर्ताको लागि निवेदन दिएको थियो । त्यस्तै असार ९ गते बोर्डमा उक्त युनियनबारे कुनै दाबी बिरोध भए १५ दिनमा उजुरी गर्न सूचना टाँस भएको छ । पार्टी अनुसार संगठन खोल्न सक्ने ब्यबस्था भएकोले कुनै दाबी विरोध नपर्ने र आगामी असार २४ गते उक्त संगठनले आधिकारिता पाउने बोर्ड स्रोतले जनाएको छ ।
आफ्ना मागहरुको लबिङ तिब्र पार्न पार्टी निकट संगठन आएको बताईएको छ । यो संगठन अध्यक्ष कै चाहना, र समर्थनमा आएको र यसको गठनमा ब्यबस्थापनले नै पूर्ण सहयोग गरेको बोर्ड स्रोतले जनाएको छ ।
हाल बोर्डमा तोलाकान्त न्यौपानेको नेतृत्वमा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन रहेको छ। न्यौपानेको नेतृत्वको कर्मचारी युनियन कांग्रेस निकट भएकाले नेकपा समर्थित संगठन जन्मिएको स्रोतको दाबी छ । न्यौपाने ४ महिना अगाडी मात्र अध्यक्ष चयन भएका हुन्। त्यस अघि राजु जिसीले १४ वर्षदेखि युनियनको नेतृत्व गरेका थिए । तर जिसीले छोडेको ४ महिना मै पार्टी समर्थित नयाँ युनियन आउँन लागेको हो ।
छैठौ तहसम्मका कर्मचारी बोर्डको युनियनमा बस्न पाउने ब्यबस्था छ । जस अनुसार करिब ४१ कर्मचारी युनियनमा आवद्द हुन पाउँछन् । ति मध्ये २९ जना अर्थात् करिब ७० प्रतिशत पुरानै युनियनमा रहेको र बाँकि ३० प्रतिशत नेकपा निकट युनियनमा आवद्द हुन लागेको बोर्ड स्रोतले जनाएको छ। यद्दपी नेकपा निकट संगठनमा आबद्ध कर्मचारीले बोर्डमा दुवै पार्टी निकट संगठनमा आबद्धको संख्या समान भएको दाबि गरेका छन्।