महासंघको मागः पूँजी बजारको सहजीकरण उद्योग मन्त्रालयबाट होस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 09:58:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग तथा व्यवसायी महासङ्घले वस्तु उत्पादन गरी राष्ट्रिय पुँजी निर्माण गर्ने उद्योग तथा व्यवसायको विकास नहुँदा मुलुकमा आर्थिक संकट देखिएको जनाएको छ । आज बिहान उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटमा महासंघले राष्ट्रिय पुँजी निर्माण गर्ने उद्योग तथा व्यवसायको विकास नहुनु नै वर्तमान आर्थिक संकटको मुख्य कारण भएको जनाएको हो ।

महासंघका संयोजक भागीरथ सापकोटाको नेतृत्वमा मन्त्री भण्डारीसँग भेट्न गएको उद्योगी व्यवसायीहरुको टोलीमार्फत महासंघले विद्यमान अवस्थामा उद्योग व्यवसाय स्थापना तथा सञ्चालन गरी राष्ट्रिय पुँजी निर्माण तथा रोजगारी सिर्जना गर्नको लागि १३ बुँदे सुझाव तथा मागहरु समेत राखेको छ । 

महासंघले सेयर बजार उद्योगको आर्थिक अवस्थालाई दर्शाउने मुख्य आधार भएकोले पूँजी बजारको व्यवस्थापन तथा सहजीकरण गर्नुपर्ने दायित्व उद्योग मन्त्रालयमा रहेको भन्दै यसका लागि विशेष पहल गर्न मन्त्रीसमक्ष माग गरेको छ । यस्तै, कोरोना महामारी र त्यस लगत्तैको आर्थिक मन्दीले पारेको असरका कारण लगातार ३ वर्षसम्म घाटामा गएका उद्योगहरुलाई विशेष सुविधा उपलब्ध गराउन पनि महासंघले माग गरेको छ । 

यस्ता छन् महासंघका मागहरुः

१) नेपाल उद्योग व्यवसाय महासंघ विधिवत रूपमा दर्ता भई राष्ट्रिय सञ्जाल निर्माण गरिसकेको उद्योग तथा व्यवसायीहरूको स्वतन्त्र संस्था भएकोले यस्तै प्रकृतिका अन्य महासङ्घ सरह राष्ट्रिय मान्यता प्रदान गरी उत्पादनको प्रमाणपत्र जारी गर्ने तथा उद्योग व्यवसायसँग सम्बन्धित योजना तर्जुमा, ऐन र नियमावली बनाउँदा अनिवार्य सहभागिताको कानुनी व्यवस्थाको लागि अनुरोध गर्दछौं।

२) उद्योगको आन्तरिक तथा बाह्य लगानी, स्थापना र सञ्चालन गर्दा विभिन्न निकायमा धाउनुपर्ने साथै समयावधि समेत अत्याधिक लाग्ने भएकोले छिटो छरितो तरिकाले उद्योग स्थापना गर्न तथा उद्योग सञ्चालन हुन नसकेको अवस्थामा बन्द गर्न समेत छिटो छरितो र सरल तरिकाले सम्पन्न गर्न एक द्वार प्रणालीको व्यवस्थापन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

३) वर्तमान अवस्थामा उद्योगको स्थापना र विकासका लागि सहयोगी नेपाल सरकारका केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिका स्तरका कार्यालयहरूको कार्यक्रम उद्योगको विकास र विस्तार भन्दा पनि उद्योगलाई कसरी नियमन र नियन्त्रण गर्नेमा केन्द्रित रहेको देखिन्छ उद्योगसँग सम्बन्धित निकायहरूलाई उद्योगको नियमन गर्नुको साथसाथै सम्बन्धित स्थानीय स्तरका उद्योगहरूको पहिचान तथा सहजीकरण गर्ने प्रमुख निकायको रुपमा विकास गर्न कानुनी रूपमा नै व्यवस्थापन गर्न माननीय मन्त्रीज्यू समक्ष अनुरोध गर्दछु।

४) कोरोना महामारी र त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा भएको आर्थिक मन्दीले पारेको असरका कारण लगातार तीन वर्षसम्म घाटामा गएका उद्योगहरुलाई विशेष सुविधा सहित सञ्चालन गर्न सक्ने अवस्थामा पुऱ्याउनको लागि हार्दिक अनुरोध गर्दछु।

५) उद्योग व्यवसायसँग सम्बन्धित राज्यले कार्यान्वयनमा ल्याएको नयाँ ऐन कानुनका कारण अथवा अन्तर्राष्ट्रिय अवस्थाका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा रहेका उद्योगहरूलाई नयाँ ऐन कानुन अनुसार तथा मापदण्ड अनुसार सञ्चालन गर्नको लागि राज्यको तर्फबाट पनि विशेष पहल कदमी हुनुपर्ने।

६) समृद्धिको लागि राष्ट्रिय पुँजी निर्माण गर्न हामीसँग भएका प्राकृतिक स्रोत (जल, जमिन, माटो, ढुङ्गा, बालुवा, खनिज पदार्थ, वनजङ्गल, वन्यजन्तु, हिमाल) साधन तथा मानव संसाधनसँग सम्बन्धित उद्योगहरूलाई विशेष सुविधा र सहजीकरणका साथ प्रत्येक जिल्ला, पालिका तथा प्रदेशहरूमा सञ्चालन गर्ने गरी उद्योग ग्रामको स्थापना र सञ्चालनको लागिआवश्यक कानुनी तथा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछु।

७) प्रत्यक्ष रूपमा सेयर बजार उद्योग नभएता पनि उद्योगको आर्थिक अवस्थालाई दर्शाउने एउटा प्रमुख आधार भएकोले पूँजी बजारको व्यवस्थापन तथा सहजीकरण गर्नुपर्ने दायित्व समेत उद्योग मन्त्रालयमा रहेकोले यसलाई व्यवस्थित गर्नको लागि विशेष पहल कदमी गर्नुपर्ने ।

८) नेपालको समग्र आर्थिक विकासको लागि कृषि उद्योग महत्वपूर्ण भएकोले यससँग सम्बन्धित व्यवसायलाई कम्तिमा पनि छिमेकी मुलुक सरह सेवा सुविधा उपलब्ध गराउनको लागि उद्योग मन्त्रालयको तर्फबाट विशेष पहल कदमी हुनुपर्ने ।

९) कृषि उद्योग, निर्यात जन्न उद्योग तथा आयात प्रतिस्थापन गर्ने उद्योगको लागि विशेष व्यवस्था गर्नुपर्ने ।

१०) नेपालको कृषि उद्योगलाई प्रतिस्पर्धी बनाउनको लागि पोल्ट्री व्यवसाय, लाइभस्टक व्यवसाय, दुग्ध उत्पादन उद्योग तथा व्यवसाय र मत्स्यपालन उद्योग, फलफुल उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने कच्चापदार्थ औषधि उपचार तथा जैविक सुरक्षासँग सम्बन्धित वस्तु तथा यन्त्रहरूमा आयात गर्दा भन्सार शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्णरुपमा खारेज हुनुपर्दछ।

११) नेपाली उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा कम्तिमा पनि तयारी वस्तुभन्दा एक तह भन्सार तथा अन्य शुल्क कम हुनुपर्ने व्यवस्था गर्नुपर्ने।

१२) राष्ट्रिय पुँजी निर्माण गर्नको लागि हाम्रो आफ्नो भौगोलिक अवस्था अनुसार उद्योगको विकासको लागि भौतिक पूर्वाधार निर्माणको सँगसँगै उद्योग व्यवसायको विकासको लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने ।

१३) उच्च पहाडी क्षेत्रमा पशुपालन जडीबुटी प्रशोधन तथा खनिज पदार्थको उत्खनन र प्रशोधन सहितको विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved