गएको फागुन महिनामा वाणिज्य बैंकहरुको शेयर मूल्यमा तिब्र उतारचढाव देखिएको छ । उतार चढाव मात्र होइन फागुनमा वाणिज्य बैंकको शेयरमा समान प्रकृतिको 'मुभमेन्ट' समेत देखिएको छ । यसबाट केहि लगानीकर्ता कसरी वाणिज्य बैंकका शेयर खरिद गरेर फसे समेत देख्न सकिन्छ ।
फागुन १ गतेदेखि १५ गतेसम्मको अवधिमा २६ वटै बाणिज्य बैंकको शेयर मूल्य बढेको छ । पहिलो १५ दिनको अवधिमा बैंकहरुको शेयर मूल्य ३८ प्रतिशतसम्मले बढेको छ । त्यस अवधिमा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य समान ३८ प्रतिशतले बढेको हो । फागुन १ गते ६३९ रहेको एभरेष्ट बैंकको शेयर मूल्य फागुन १५ मा आई पुग्दा २४१ रुपैयाँले बढेर ८८० रुपैयाँमा पुगेको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्डको शेयर मूल्य ६०७ बाट ८ सय ३७ सम्म पुगेको छ ।
फागुन १ देखि अधिकांश बाणिज्य बैंकको शेयर बढ्दै गएको देखिन्छ । तर फागुनको १६ गतेपछि ति शेयर मूल्यमा रोचक गिरावट देखिन्छ । फागुन १६ गतेदेखि २९ गतेसम्मको अवधिमा बैंकहरुको शेयर मूल्यमा गिरावट आएको देखिन्छ । यतिसम्म कि कतिपय बैंकको शेयर मूल्य फागुन १ मा जति थियो, फागुन १५ मा उच्च बिन्दुमा पुगेर फागुन २९ मा फेरी पहिले कै मुल्य नजिक आएको देखिन्छ । अर्थात् फागुन १६ गते उच्च मुल्यमा पुगेको शेयरको मूल्य फागुन २९ सम्ममा फागुन १ कै हाराहारीमा आएको देखिन्छ ।
फागुन १६ देखि फागुन २९ गतेसम्मको अवधिमा सबै बाणिज्य बैंकको शेयर मूल्य घटेको छ । बैंकको शेयर मूल्य जुन अनुपातमा बढेको थियो, ठ्याक्कै त्यहि अनुपातमा नघटे पनि २० प्रतिशतसम्मले घटेको देखिन्छ ।
यसबाट बजारमा छोटो अवधिमा कारोबार गर्नेले कसरी मूल्यमा चलखेल गरेर कमाउछन् भन्ने देखिन्छ । मूल्य अझै बढ्ने आशामा फागुन १५ को हाराहारीमा शेयर खरिद गरेका लगानीकर्ता भने त्यहाँ फसेको देखिन्छ। कारण, उनीहरुले शेयर खरिद गरेपछि मूल्यमा देखिएको गिरावट नै हो।
मूल्यान्तरमा यसरी खेल्नु शेयरबजारको स्वस्थ पाटो हो । यो लगानीकर्तालाई जोखिम र अवसर दुवै हो । कारोबार गर्दा निश्चित अवधिमा आउने शेयर मूल्यको फरक नै मूल्यान्तर हो । किन्नेले जति सक्दो सस्तोमा किन्न खोज्ने र बेच्नेले जति सक्दो महँगोमा बेच्न रणनीति अपनाउँदा मूल्यान्तर बढी हुन्छ ।
लगानीकर्ता यस्तो मूल्यान्तरको पासोमा फस्न सक्ने भएकोले शेयर खरिदको निर्णय गर्दा आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता र कम्पनीको आधारभूत पक्षको विश्लेषण गरेर मात्र लगानीको निर्णय गर्नु उपयुक्त हुन्छ।
हेर्नुस वाणिज्य बैंकहरुको फागुन महिनाको मूल्यान्तरको विवरण :