
नेपाल स्टक एक्सचेन्ज नेप्सेले वेबसाइटमा कारोबार विवरण हेर्दा बजार पुँजीकरणको विवरण देखाएपछिको डाटालाई मात्र आधिकारिक मान्न आग्रह गरेको छ । बजार पुँजीकरण देखिनु अगाडीको डाटा अपुरो हुन सक्ने नेप्सेले जनाएको हो ।
राती पनि कारोबार गरेको आरोप लागेपछि नेप्सेले यस्तो सूचना निकालेको हो । गत मंगलबार कारोबार समय बन्द भएपछि कारोबार रकम थपिएको देखिएपछि लगानीकर्ताले नेप्सेमाथि गम्भीर प्रश्न उठाएका थिए । मंगलबार कारोबार बन्द भएपछि कारोबार रकम ३२ करोडले बढेको देखिएपछि लगानीकर्ताले नेप्सेको सिस्टममाथि गम्भीर प्रश्न उठाउदै रातमा पनि कारोबार गरेको आरोप लगाएका थिए ।
तर नेप्सेले भने कारोबार बन्द भएपछिको समयमा थप कारोबार हुन नसक्ने भन्दै कारोबार विवरण पूर्ण नआउदैको डाटा डिस्प्ले भएकोले बढी कारोबार देखिएको जनाएको थियो । अहिले भने नेप्सेले सुचना नै निकालेर बजार पुँजीकरण देखाएपछिको डाटालाई मात्र आधिकारिक मान्न आग्रह गरेको हो ।
मंगलबार के भएको थियो ?
मंगलबार शेयर कारोबार बन्द हुँदा नेप्सेको वेबसाइटमा १ अर्ब ७९ करोड ३७ लाख ७ सय ४३ रुपैयाँ बराबरको भएको देखाएको थियो । तर बुधबार बिहान कारोबार सुरु हुनुभन्दा अगाडी नेप्सेको वेबसाइटमा मंगलबार २ अर्ब ११ करोड ९९ लाख ३९ लाख ५ सय ५८ रुपैयाँको कारोबार भएको उल्लेख थियो । अर्थात नेप्सेमा ३२ करोड बढीको कारोबार रकम थपिएको उल्लेख थियो । नेप्से सूचक त्यहि नै रहेपनि कारोबार रकम र कारोबार कित्ता मात्र बढेको वेबसाइटमा देखिएको थियो ।
नेप्सेले भने ईओडि अगाडी र पछाडीको डाटामा फरक परेको बताएको थियो । नेप्सेका अनुसार ३ बजे कारोबार सकिएपछि ३ बजेर ५ मिनेटपछि ईओडि अर्थात् एण्ड अफ डे सिस्टमलाई रन गरिन्छ । त्यो प्रोसेस सकिएपछि मात्र यकिन कारोबार रकम आउँछ । कहिलेकाही त्यो प्रोसेस पुरा हुनको लागि ३ घण्टा पनि लाग्न सक्ने भएकोले रकम फरक देखिन्छ ।