
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको पुँजीबजार विदेशी लगानीकर्ताको लागि पनि खुला गरिनु पर्ने बताएका छन्। आज आयोजित पुँजीबजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले पुँजीबजारमा विदेशी लगानीकर्ता ल्याउनै पर्ने बताएका हुन् ।
उनले धितोपत्र बोर्डले पनि पुँजीबजारमा विदेशी लगानीकर्ता ल्याउन अध्ययन गरेको भए पनि अहिले कै अवस्था विदेशी लगानी खुला गर्न फिटा कानुन बाधक देखिएको बताए । यद्यपि उनले विदेशी लगानी हस्तातरण ऐन (फिटा) संशोधन गरेर भए पनि विदेशी लगानी खुला नै गर्नु पर्ने बताए ।
समस्या हुन्छ भने सिलिङ तोक्न सकिने तर विदेशी लगानीकर्तालाई पुँजीबजारमा लगानी भने खुला नै गर्नु पर्ने उनले उल्लेख गरे । नेपालभन्दा २० वर्ष पछि पुँजीबजार संचालन गरेको कम्बोडियाको उदाहरण दिदै उनले आहिले कम्बोडियाको पुँजीबजारमा २६ प्रतिशत लगानी विदेशी लगानीकर्ता मार्फत भएको बताए । उनले नेपालमा पनि ऐन संशोधन गराएर पुँजीबजारमा विदेशी लगानी ल्याउनै पर्ने बताए ।