![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
सर्वोत्तम सिमेन्टले मङ्सिर ६ गतेबाट बुक बिल्डिङ विधिमार्फत् आइपीओ बिक्री थालेको छ । कम्पनीले पहिलो चरणमामा मङ्सिर ६ देखि क्युआईआई अर्थात् योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो। यस निष्काशनमा योग्य संस्थागत लगानीकर्ताहरुले मङ्सिर १० गते आइतबारसम्म आवेदन दिन सक्ने छन् ।
योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आवेदन दिनु पर्ने छ । हालसम्म कम्पनीको आईपीओमा ४ वटा योग्य संस्थागत लगानीकर्ताहरुले आवेदन दिएका छन् । आज मङ्सिर ८ गते शुक्रबारको कार्यालय समयसम्ममा ४ वटा योग्य संस्थागत लगानीकर्ताहरुले आवेदन दिएको नेप्से स्रोतले जनाएको छ। आवेदन दिने मङ्सिर १० गते अन्तिम दिन रहेकोले अधिकांशले मङ्सिर १० गते नै आवेदन बुझाउने आँकलन गरिएको छ।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गरेको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ४०१ देखि ६०१.५० रुपैयाँसम्मको मूल्य सीमा तोकेको छ। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने छन् । यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न पाउने छैनन् ।
यहि नियमका कारण यस अघि नै आशय मूल्य पेश गरेका केहि योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन नदिने भएका छन् । आशय मूल्य पेश गर्दाको समयको तुलनामा अहिले बजारको स्थिति बदलिएको र त्यसले मुल्यमा पनि प्रभाव परेको भन्दै आशय मूल्य पेश गरेका केहि योग्य संस्थागत लगानीकर्ताले आवेदन नदिने भएका हुन् ।
सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।