गत बर्ष (आव ७४/७५) को तुलनामा यस बर्ष (आव ७५/७६) मा सिनर्जी पावरको नाफा ६५ प्रतिशतले बढेको छ । गत बर्ष १ करोड ६० लाख नाफा कमाएकोमा कम्पनीले यो बर्ष २ करोड ६५ लाख नाफा कमाएको हो । कम्पनीको विद्युत बिक्रिको आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक बर्ष कम्पनीले विद्युत बिक्रिबाट २० करोड २२ लाख कमाएकोमा यस पटक १९ करोड १९ लाख मात्र कमाएको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ७० करोड छ भने बैंक ऋण झण्डै ७२ करोड रहेको छ । कम्पनीले गत आर्थिक बर्षमा सञ्चालन नाफा गरेको भए पनि रिजर्भ १० करोड ९४ लाख ८७ हजार ५७६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भ पोजेटिभ नभए सम्म लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्दैनन् ।
आज प्रकाशित कम्पनीको चौथो त्रैमासको बित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३.७९ छ भने प्रति शेयर नेटवर्थ ८४.३६ र मुल्य आम्दानी अनुपात २३.७४ रहेको छ ।
सिनर्जी पावरले दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलबिद्युत आयोजना निर्माण गरि सञ्चालन गर्दै आएको छ । तर बिद्युत प्राधिकरणले बनाउनु पर्ने प्रसारणलाईन नबनाईदिएको कारण ७ बर्ष देखि उत्पादन भएको बिद्युत पूर्ण रुपमा खपत हुन नसकी खेर गईरहेको कम्पनीले जनाएको छ।