सरकारले वैकल्पिक विमानस्थल निर्माणका लागि उपयुक्त स्थान छनोट गर्न समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्नको लागि नयाँ विमानस्थलबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशकद्वय ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् । सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा रहेका छन् ।
समितिलाई स्थलगत निरीक्षण गरिएका काभ्रेका ३ स्थान वा अन्य कुनै उपयुक्त स्थानको अध्ययन गरी १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी दिईएको छ। यस अघि मन्त्रीसहितको टोलीले बनेमा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरको निरीक्षण गरेको थियो । पर्यटन .मन्त्री अधिकारीले वैकल्पिक विमानस्थल निर्माणमा प्राविधिकलगायत सबै प्रक्रिया चाँडो अघि बढाउन आफ्नो घोषित १०० दिने कार्यक्रमभित्रै विमानस्थल कहाँ र कुन मोडलमा बन्ने भन्ने निर्णय भइसक्ने बताएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चाप बढेपछि सरकारले काठमाडौँ नजिकै बैकल्पिक विमानस्थल निर्माण गरेर त्यहाँबाट आन्तरिक उडान गर्ने तयारी गरेको हो । बैकल्पिक विमानस्थल संचालनमा आएसंगै त्रिभुवन विमानस्थलमा चाप केहि घट्ने अनुमान गरिएको छ ।