लगातार चौथो जित निकाल्दै पाकिस्तान टि–२० विश्वकपको सेमिफाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 07:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान लगातार चौथो जितका साथ आइसिसी टि–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार राती सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले नामिबियालाई ४५ रनले हराउँदै पाँचौं पटक टि२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

पाकिस्तानले सुरुमा ब्याटिङ गर्दै जितको लागि १८९ रनको विशाल रन बनाएको थियो । १९० रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन मात्रै बनायो । नामिबियाका लागि डेविड विसे ३१ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ३७ बलमा ५ चौका र १ छक्का सहित ४० रन बनाए । 

ओपनर स्टेफन ब्रान्ड २९ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । कप्तान गेरहार्ड इरास्मस १५ र जेजे स्मितले २ रन मात्रै बनाए । पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले एक एक  विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनायो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान ५० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७९ रनमा अविजित रहे ।

कप्तान बाबर आजमले ४९ बलमा ७ चौकासहित ७० रन बनाए । मोहम्मद हफिज १६ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहे । पाकिस्तानलाई ओपनर बाबर आजम र रिजवानले १४.२ ओभरमा ११३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए । 

फखार जमान ५ रनमा आउट भए ।

पाकिस्तान ४ खेलमा ४ मा नै जित निकाल्दै शीर्ष स्थानमा छ । समूहको अन्तिम खेल पाकिस्तानले स्कटल्यान्डसँग आइतबार खेल्नेछ ।

समूह २ मा ८ अंकको दौंडमा न्युजिल्यान्ड मात्र बाँकी छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो ।

न्युजिल्यान्डले अफगानिस्तालाई हराए उसले सेमिफाइनल खेल्ने निश्चित जस्तै छ । न्युजिल्यान्डले जितेको खण्डमा भारत र अफगानिस्तान स्वतः बाहिरिने छन् । 

भारत भने समूह चरणबाटै बाहिरिने जोखिम छ । अन्तिम खेलमा न्युजिल्यान्डलाई हराए अफगानिस्तान सेमिफाइनलमा जानेछ । न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल आइतबार हुनेछ । न्युजिल्यान्डले अव नामिबिया र स्कटल्यान्डसँग खेल्ने बाँकी छ । भारतले अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved