'टेरामोक्स'मा फोन ट्यापिङको अप्सन नै छैन, ग्राहकमैत्री बनाउन खोज्दा भ्रम छरियो: प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 01:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दुरसञ्चार प्राधिकरणले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स)मा फोन ट्यापिङको भ्रम छरेर ग्राहकमैत्री प्रणालीलाई बद्नाम गरिएको बताएको छ । टेरामोक्समा फोन ट्यापिङको अप्सन नै नभएको अवस्थामा पनि निराधाररुपमा हल्ला फैलाएर भ्रम सिर्जना गरिएको प्राधिकरणले प्रष्ट्याएको छ । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल टेरामोक्स प्रणाली ग्राहक र राज्यको हितमा रहेको र यो प्रणालीले धेरै कुराहरु स्व-चालितरुपमा काम गर्ने हुँदा सेवा दिने कम्पनीहरु पनि यसको पक्षमा नदेखिएका बताउँछन् ।

टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न टेरामोक्सको कार्यान्वयन गर्न लागिएको अध्यक्ष खनाल बताए ।

कल डिटेल, एसएमएसलगायत अति व्यक्तिगत विवरण सङ्कलन हुने र गोपनीयताको विषय जोडिएको भन्दै प्राधिकरणको टेरामोक्स प्रविधिबारे प्रश्न उठेको थियो। तर प्राधीकरणले भने यसको खण्डन गर्दै राजस्व चुहावट हटाउन र सेवाको गुणस्तर बढाउन मात्रै यसको प्रयोजन भएको जनाएको छ। टेरामोक्समा ग्राहकको मोबाइल नम्बर र नामको साटो कोड सिर्जना हुने भएकाले आउने जानकारी पनि अति नै गोप्य हुने प्राधिकरणको दावी छ। 

प्रत्येक वर्ष सेवाग्राही बढिरहँदा दुरसञ्चार तथा इन्टरनेट कम्पनीका व्यवसाय पनि बढ्नुपर्ने हो तर तथ्याङ्कले प्रत्येक वर्ष २० अर्बले आम्दानी घटेको देखाएको छ। सेवाग्राही बढ्ने क्रममा हुँदा पनि ७ वर्षमा १ खर्ब ४० अर्बले व्यवसाय घट्नु आफैँमा आश्चर्यको विषय हो। फाइभ-जी भनेर ग्राहकबाट शु:ल्क लिइएको छ तर फोर-जी पनि उपभोग गर्न पाएका छैनन्, २/३ सेकेन्डमा फोन काटिँदा त्यसको शु:ल्क लाग्दैन तर ग्राहकको पैसा काटिएको छ।

टेरामोक्समा प्रमुख प्रदर्शन सूचक (कि पर्फर्मेन्स इण्डिकेटर)को प्रणाली, इन्टरनेटमार्फत नियमित नेटवर्कभन्दा बाहिरबाट फोन गराउने (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) गतिविधि ट्रयाक गर्ने प्रणाली, २/३ सेकण्डमा फोन काटिँदा पैसा लिए नलिएको थाहा हुने प्रणाली, कुन लोकेसनमा कस्तो गुणस्तरको फोन र इन्टरनेट प्रवाह भइरहेको छ भन्ने जानकारी दिनेलगायतका प्रणाली जोडिएकाले अहिले यस्तो विरोध बढेको अध्यक्ष खनालको भनाइ छ। 

'दुरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको वास्तविक व्यवसायको आकार र सेवाग्राहीले दिएको वास्तविक सेवाको गुणस्तर टेरामोक्सले स्वचालित (अटोमेटिक)रुपमा पढ्ने (रिड गर्ने) भएकाले अहिले यो प्रणालीबारे भ्रम छरिएको छ', उनले बिजपाटीसँग भने। 

व्यवसायको वास्तविक आकार थाहा हुँदा तिर्नुपर्ने राजश्वको दायित्व बढ्ने र सर्त विपरितको सेवा दिएको प्रणालीले थाहा पाउँदा कारबाही भोग्नु पर्ने भएकाले यसलाई असफल बनाउनकै लागि फोन  ट्यापिङको भ्रम छरिएको उनको दावी छ। 

'नेपाल प्रहरी तथा अन्य अनुसन्धान गर्ने राज्यका निकायले चाहेको अवस्थामा अहिले पनि प्रत्येक व्यक्ति वा संस्थाको कल डिटेल निकाल्न पाइन्छ र यो प्रणाली सबै सेवा प्रदायक कम्पनीसँग छ तर टेरामोक्समा 'फोन ट्यापिङ' हुन्छ भनेर हल्ला फिँजाइएको छ, जुन गलत हो', उनले भने। 

पछिल्लो समय ग्राहकको फोन  ट्यापिङ गर्नलाई यो प्रणाली जडान गर्न खोजिएको भन्दै सांसद तथा विभिन्न व्यक्तिहरुले मात्र नभइ स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसको विरोध गरेका छन्। हिजो साउन ३० गते एक सार्वजनिक कार्यक्रममा  प्रधानमन्त्री प्रचण्डले नागरिकका फोन  ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको विषय आइसकेकाले तत्कालै यो कार्यान्वयन नहुने बताएका थिए। 

नेपाल दुरसञ्चार प्राधिकरणले दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर (तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी) रकम लगानी गरी त्यसका लागि आवश्यक उपकरणसमेत नेपाल भित्र्याइसकेको छ। अहिले जडानको क्रममा यो विवाद सिर्जना भएको हो। 

टेरामोक्स प्रविधि लागू गर्न प्राधिकरणले पटकपटक नेपाल टेलिकम र एनसेललाई निर्देशन दिए पनि उनीहरूले लागू गर्न मानेका छैनन्। प्राधिकरणले भने टेरामोक्स जडानको उद्देश्य व्यक्तिगत कल रेकर्ड गर्नका लागि नभएको स्पष्ट पारेको छ। 

टेरामोक्स लागू भएमा दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण तथा न्यूनीकरण गर्न र सेवा प्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणको तर्क छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved