सरकारले मन्त्रिपरिषदको बैठकबाटै निर्णय गराएर सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एप डाउनलोड गर्नेहरु बढेका छन् । फेसबुक र ट्वीटरका प्रयोगकर्ताहरुले आफूले भीपीएन डाउनलोड गरेर टिकटक चलाइरहेको स्टाटस लेखिरहेका छन्, टिकटकका भिडियो पनि सेयर गरिरहेका छन् ।
भीपीएनमार्फत टिकटक हेर्न र चलाउन सकिने भएकाले अहिले प्रयोगकर्ताहरु यता मोडिएका हुन् । अहिले गुगल प्ले स्टोरमा हेर्दा सबैभन्दा बढी डाउनलोड भएका एपको शीर्ष स्थानमा विभिन्न नामका भीपीएन नै बढी छन् ।
सरकारले आफूमाथि टिकटकबाट बढी आलोचना भएर यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेकाले भीपीएन डाउनलोड गर्न फेसबुक र ट्वीटरबाट एकले अर्कालाई सिकाउन थालिएको थियो । यसको प्रभाव स्वरुप भीपीएन डाउनलोड गर्नेहरु तीव्र रुपमा बढिरहेका छन् ।
इन्टरनेट सेवा प्रदायक (आइएसपी) मार्फत टिकटकको सर्भरमा प्रयोगकर्ताको पहुँच नपुग्ने भएपछि अब भर्चुअल प्राइभेट नेटवर्कमा प्रयोगकर्ता झुम्मिएका छन् । यसअघि आइएसपीलाई प्रयोगकर्ताको डिभाइसमा कुन एप्स चलिरहेको छ र त्यसले कति ब्याण्डविथ खपत गरिरहेको छ भन्ने थाहा हुन्थ्यो । तर, अब भीपीएन प्रयोग बढेपछि यसमा तेस्रो पक्षले कुनै जानकारी पाउँदैन । आइएसपीले सिँधै टिकटकको सर्भरमा जानबाट रोकेपनि प्रयोगकर्ताहरु भीपीएनमार्फत गइरहेका हुन्छन् । आइएसपीले भीपीएनको सर्भरमा प्रयोगकर्ता गइरहेको देख्न सकेपनि रोक्न सक्दैन । भीपीएन हुँदै प्रयोगकर्ताहरु कहाँ कहाँ गइरहेका छन् भन्ने आइएसपीहरुलाई थाहा पनि हुँदैन ।
अहिले निःशुल्क रुपमा प्रयोग गर्न सकिने भीपीएनको प्रयोग बढेकाले सुरक्षामा झन चुनौती थपेको साइबर सुरक्षाका जानकारहरु बताउँछन् ।
सँगै भीपीएन प्रयोगले खर्च पनि बढाउने इन्टरनेट सेवा प्रदायकहरु नै बताउँछन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीले भीपीएन प्रयोग गर्दै टिकटक चलाउनेहरु देखिएको भन्दै यसले सेवा प्रदायकहरुको खर्च बढाउने बताएका छन् । टिकटक बन्द हुनु अगाडीसम्म नेपालका प्रयोगकर्ताहरुले नेपालकै ट्राफिक प्रयोग गरेको भएपनि अब भीपीएन प्रयोग गरेपछि सर्भरसँगको पहुँचका लागि अन्तर्राष्ट्रिय ट्राफिक प्रयोग हुने भएकाले खर्च बढाउने उनको भनाइ छ ।
‘भीपीएन प्रयोगले शत् प्रतिशत नै बाहिरको ट्राफिक प्रयोग हुन्छ, हामीले यसलाई रोक्न पनि सक्दैनौँ’ उनले भने, ‘सिँधै अन्तराष्ट्रिय ब्यान्डविथ खपत हन्छ, खर्च बढ्छ ।’