प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको स्थिति भयावह हुने सक्ने बताएका छन् । बुद्ध जयन्तिको अवसरमा शुभकामना संदेश दिदै प्रधानमन्त्री ओलीले नेपालको स्थिति अहिले भयावह भइनसकेको भए पनि आगामी दिनमा भयावह हुनसक्ने बताएका हुन्।
उनले भनेका छन् 'सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।'
उनले यस दुःखद घडीमा विश्वभर कोरोेना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गरेका छन् भने संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउन सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि आग्रह र अनुरोध गरेका छन्।
यस्तो छ प्रधानमन्त्रीको संदेश:
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन । एकै दिन र एकै तिथिमा परेको हुनाले सबै हिसाबले हामी यस दिनलाई संक्षिप्तमा बुद्ध जयन्ती भनेर मनाउँछौं ।
संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रुपमा मनाउने गरेको छ । वैशाख डे जसरी धुमधामसँग विश्वव्यापी रुपमा मनाइने गरिन्थ्यो, विश्वस्तरमा सम्मेलन गरेर मनाउने गरिन्थ्यो, यस वर्ष कोरोना भाइरसको महामारीले त्यस रुपमा मनाउन सकिने अवस्था रहेन । फेरि पनि यस अवसरमा म महामानव, जसलाई मानव जातिले भगवान बुद्धका रुपमा मान्ने गरेको छ, उहाँप्रति अत्यन्तै आदर, सम्मान र श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
आज विश्व शान्तिको चाहनामा तड्पिरहेको छ र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेका छन् ।
हाम्रो देशमा केही दिन अघि मात्रै फेरि पनि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो ज्यान गुमाउन बाध्य भए । म उनीहरुप्रति अत्यन्तै संवेदनशील भावका साथ श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।
आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पु¥याएको छ । संक्रमितहरुको संख्या बढ्दो छ र त्यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो छ । यस दुःखद घडीमा म कोरोेना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु । र, संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।
यस घडीमा म गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह र अनुरोध गर्दछु ।
धन्यवाद !