सीमा विवाद बढेसंगै नेपाल र भारतबीच साइबर युद्दको संकेत देखिएको छ । नेपालले लिपियाधुरासहितलाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुवै देशका ह्याकरहरुले उक्त भुमिलाई आफ्नो दाबी गर्दै एक अर्काको वेबसाइट ह्याक गर्न सुरु गरेका हुन् ।
ट्वीटरमा ब्रह्मा नाम गरेका एक व्यक्तिले आफुले विभिन्न भारतीय वेबसाइट ह्याक गरेको बताएका हुन् । उनले भारतको लदाक विश्वविद्यालयको वेबसाइट ह्याक गरेर विद्यार्थीको तस्विर र हस्ताक्षर सार्वजनिक गरिदिएको बताएका थिए । त्यस्तै उनले भारतीय टिभी च्यानल एबिपी न्युजको एपीआई कि सार्वजनिक गरिदिएको बताएका थिए ।
उनले भारतको भारत संस्कृति न्यासको वेबसाइट, सुद्द फलफुल र तरकारी बिक्रि गर्ने वेबसाइट, पानि उत्पादन गर्ने कम्पनीको वेबसाइट, विङ्गस एकेडेमीको वेबसाइट, वेब डेभलप गर्ने कम्पनीको वेबसाइट, थेरापी समबन्धि वेबसाइट लगायतका वेबसाइट ह्याक गरेको दाबी गरेका छन् । उनले आफुले ह्याक गरेको दाबी सहित वेबसाइटको विवरण आफ्नो ट्वीटर मार्फत सार्वजनिक गर्ने गरेका छन् । त्यस्तै ट्वीटरमा सतान नामको व्यक्तिले पनि ति वेबसाइट ह्याक गरेको दाबी गरेको छ। त्यसक्रममा उनीहरुले ब्याक अफ इन्डिया, ब्याक अफ इण्डियन मिडिया, ग्रेटर नेपाल, साइबर वार लगायतका ट्याग प्रयोग गरेका छन् ।
त्यसको जवाफमा ट्वीटरमा इण्डियन साइबर नाम गरेका व्यक्तिले नेपाललाई चेतावनी दिदै विभिन्न नेपाली वेबसाइट ह्याक गरेको दाबी गरेको छ । उसले केहि नेपाली वेबसाइटको डाटाबेसमै पुगेको प्रमाण स्वरुपमा तस्विर सार्वजनिक गरेको छ । उसले प्रदेश ३ अन्तर्गतको एउटा वेबसाइट ह्याक गरेको दाबी गरेको छ । त्यस्तै उसले वनस्पति अनुसन्धान केन्द्र बाँकेको वेबसाइट र अन्य २ वटा शैक्षिक संस्थाको ह्याक गरेको जनाएको छ । उसले पनि नेपाली ह्याकरले जस्तै आफुले ह्याक गरेका वेबसाइटको विवरण ट्वीटर मार्फत सार्वजनिक गर्ने गरेको छ ।
उसले भारतीय ह्याकरहरु बलियो रहेका भारतीय वेबसाइट ह्याक नगर्न चेतावनी दिएको छ । यदि ह्याक गर्ने क्रम नरोकिएमा आफुले पनि अन्य नेपाली वेबसाइट ह्याक गर्ने चेतावनी दिएको छ ।
आईटी समबन्धि जानकारहरु भने नेपालका वेबसाइटहरुमा साइबर सुरक्षा कमजोर हुने गरेको यसरी स-साना वेबसाइट ह्याक गर्दा भारतले जवाफमा महत्वपूर्ण र संवेदनशील वेबसाइटहरु ह्याक गरिदिन सक्ने भएकोले यस्तो कार्य रोक्न आग्रह गर्छन । साथै उनीहरुले भारतीय ह्याकरहरु क्षमता पनि बढी भएकोले साइबर युद्द तर्फ आकर्षित नगर्न आग्रह गर्छन् ।