दाङमा फेरि सलह कीरा देखा परेको छ । दाङको दुई गाउँपालिकामा पहिलाको भन्दा ठुलो झुण्ड देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
आइतबार विहान साढे ९ बजे जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडामा प्रवेश गरेको सलहका झुण्ड १ बजेको आसपासमा त्याहाबाट उडेको केन्द्रका सूूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । सुवेदीका अुनसार जिल्लाको राप्ति गाउँपालिकामा भने आकासमा उडेको मात्र देखिएको छ । त्यहाँबाट उडेका सलहहरु अर्घाखाँची र प्युठानतिर लागेको भएपनि हालसम्म कहाँ छन् भन्ने यकिन नभएको उनले बताए । उक्त स्थानमा हाल पानी नपरेकोले सलह उडिरहेको हुनसक्ने अनुमान गरीएको उनले बताए।
उनका अनुसार सलह १० घण्टासम्म लगातार उड्न सक्छ भने उड्दा उड्दै पानी परेकोमा जहाँ छ त्यही स्थानमा बस्ने गर्दछ । पानी परेको बेलापनि बसेको ठाउमा सलहले क्षति पुर्याउने उनले बताए ।
आज प्रवेश गरेको उक्त झुण्डमा करिव ५ लाख देखि ८ लाखको हाराहारीमा कीराहरु रहेको उनले जानकारी दिए । भारतबाट अभैपनि सलह भित्रने सम्भावना कायम रहेको उनले जानकारी दिए । उनका अनुसार २-३ दिनमा जनकपुर र भैरवहाबाट थप सलहका झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना रहेको उनले बताए ।