अनुगमन तथा मूल्याङ्कन विधेयक पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 05:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको आजको बैठकबाट ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेकी थिईन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो । 

राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयकले विकास नीति तथा योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन एवं मूल्याङ्कनलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ । विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाई सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न यो कानुन आवश्यक रहेको सञ्चारमन्त्री शर्माले बताईन् । 

बदलिँदो शासकीय स्वरुपअनुरुप विकास प्रक्रियालाई रुपान्तरण गर्न तथा विकासको मूलप्रवाहमा सबै वर्ग समाहित हुने वातावरण सिर्जना गर्न यो कानुन आवश्यक रहेको मन्त्री शर्माले उल्लेख गरिन्।

सङ्घ, प्रदेश र स्थानीय तहका विकास आयोजनाको अनुगमन तथा मूल्याङ्कनका आधार, चरण, मापदण्ड, अनुगमन गर्ने निकायलगायतका व्यवस्था विधेयकमा राखिएका छन् । अनुगमन एवं मूल्याङ्कनको काम नियमित तथा आवधिक रुपमा गर्ने, सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी निर्दिष्ट गरी जवाफदेही बनाउनेलगायत लक्ष्य लिइएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved