बजेटले साना तथा मझौला उद्योगलाई संरक्षण गरेन - भवानी राणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 11:19:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारले हिजो पेश गरेको बजेटले साना तथा मझौला उद्योगलाई संरक्षण नगरेको बताएकी छन् ।

बिजपाटीसँग संक्षिप्त कुराकानी गर्दै राणाले अर्थतन्त्रमा ८० प्रतिशत योगदान दिने साना र मझौला उद्योगलाई बेवास्ता गरेर बजेट आएको गुनासो गरेकी हुन् ।

'अर्थतन्त्रमा झन्डै ८० देखि ८५ प्रतिशत योगदान गर्ने साना तथा मझौला उद्योगलाई बजेटले संरक्षण गरेन,' उनले भनिन्, '१० करोडसम्मको विद्युत खपत गर्ने ठूला उद्योगलाई मात्र दिने भनिएको छ तर त्यस्ता कति उद्योग छन् र ?'

उनले भर्खरै कोभिडको महामारीबाट माथि आउन प्रयास गरिरहेका कतिपय साना र मझौला उद्योगहरू सरकारको बेवास्तामा परेको बताइन् ।

'करको विषय पनि क्लियर छैन, कति छुट कति सहुलियत पाउने हो,' उनले भनिन्, 'केही ठूला उद्योगलाई निर्यातमा अनुदान दिने भनिएको छ । तर साना तथा मझौला उद्योगलाई राहत हुने गरेर केही आएन ।'

कृषि लगायत कतिपय क्षेत्रलाई बजेटले राम्रोसँग सम्बोधन गरेको भएपनि ३० प्रतिशतसम्म आयात कम गर्न त्यतिले नपुग्ने बताइन् ।

'आयातलाई ३० प्रतिशतले कम गर्ने भनिएको छ तर त्यसको स्पष्ट आधार छैन,' उनले भनिन् । उनले बजेट कार्यान्वयन गर्न सहज नहुने र स्रोतको परिचालनमा पनि कठिनाइ आउन सक्ने बताइन् ।  

सरकारका अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका थिए ।

बजेटमा निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । प्रतिपक्षी दल नेकपा एमालेले हचुवामा आएको बजेट भनेर आलोचना गरेको छ भने सत्तारूढ गठबन्धनकै कतिपय शीर्ष नेताहरूले बजेटले उत्साह नदिएको प्रतिक्रिया दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved