पाँच हजारबढी किसान लाभान्वित बनेको कृषि बीमामाथि सरकारको गिद्धेदृष्टी

भीमा पन्थी/बिजपाटी

भीमा पन्थी/बिजपाटी

Apr 03, 2023 | 03:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष २०७८/७९ मा ५ हजारभन्दा बढी लाभान्वित भएको कृषि बीमालेखमा सरकारले भूतप्रभावि निर्णय गरेर किसानमाथि नै गिद्धेदृष्टी प्रदर्शन गरेको छ ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयअन्गर्ततको कृषि विभागले प्रिमियमबापत दिनुपर्ने रकम कटौती गरेसँग कम्पनीहरु यस्ता बीमालेख जारी गर्नबाट निरुत्साहित हुँदा त्यसको प्रत्यक्ष असर किसानलाई पर्ने देखिएको हो । 

विभागले गत आर्थिक वर्षको असोजदेखि चैतसम्म जारी भएका कृषि बीमालेखमा दाबी गरेकोभन्दा करिब दुई करोड रुपैयाँ प्रिमियम कटौती गरेर पठाएसँगै कम्पनीहरु सहुलियतपूर्ण कृषि बीमालेख जारी गर्नबाट निरुत्साहित बनेका छन् । 

विभागले बीमालेखमा बिमाङ्क बढी कायम भएको भन्दै कटौती गरेर पठाएको थियो । गत वैशाख १४ गते भएको बाली तथा पशुधन बीमाकोष व्यवस्थापन समितिको बैठकले बजार अनुसन्धान तथा व्यवस्थापन कार्यक्रमबाट आर्थिक वर्ष २०७२/७३ मा तयार पारेको विभिन्न बालीहरुको लागतको तथ्याङ्कमा आधारित रहेर हरेक वर्ष ७.८ प्रतिशतले कम्पाउन्डिङ्ग गरी बिमाङ्क कायम गर्ने निर्णय गरेको थियो । सोही अनुसार विभागले बीमा गरिएको वस्तुको बीमाङ्क क्रश चेक गर्दा अस्वभाविक बढी देखिएको भन्दै रकम कटौती गरेको हो ।

यता कम्पनीहरुले भने सरकारले लाइसेन्स दिएका प्राविधिकको सिफारिसमै कायम गरिएको बीमाङ्क गलत रहेको भन्दै कम्पनीलाई आर्थिक भार थोपार्नु नमिल्ने दावी गर्दै आएका छन् । बीमक संघका अध्यक्ष चंक क्षेत्रीले सरकारकै प्राधिविधिकको सिफारिसलाई विगतमा सही र अहिले गलत भएको भन्दै कम्पनीलाई मारमा पार्न नमिल्ने बताउँछन् । 

‘सरकारकै प्राविधिकको सिफारिसमा गरेको मुल्याङ्कन गलत हुँदा सरकारले कम्पनीलाई घाटा व्यहोर्नुपर्ने गरी निर्णय गर्न मिल्दैन’, उनले भने, ‘विगतका वर्षहरुको सोही प्राविधिकले पठाएको सिफारिस सही हुने अहिले एउटा निर्णय गरेपछि त्यही कुरा गलत हुने भन्ने हुँदैन, यसको अतिरिक्त भार कम्पनीले लिन सक्दैन ।’

केही कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरु भने यसलाई सरकारको दोहोरो चरित्र भएको दाबी गर्दै अब सहुलियतका बीमालेखमा आफूहरु अतिरिक्त लगानी नगर्ने बताउँछन् । यसको प्रत्यक्ष असर सामान्य किसानमा पर्ने देखिन्छ । 

५ हजार बढी किसान लाभाविन्त भएका थिए गतवर्ष

गतवर्ष सरकारले दिएको सहुलियत लिएर बीमा गरेका ५ हजारबढीले क्षति पश्चात दावी भुक्तानी पाएका छन् । बीमा प्राधिकरणका अनुसार १७ वटा बीमा कम्पनीले ५ हजार ३५५ वटा कृषि बीमालेखको दावी भुक्तानी गरेको हुन् । उक्त दाबी बीमालेखमा कम्पनीहरुले ७० करोड ३० लाख ६२ हजार ९७० रुपैयाँ भुक्तानी गरेका हुन् । 

४ महिनामै करिब ५ सय किसान लाभांन्वित

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा पनि कृषि बीमालेखबाट करिब ५ सय जना लाभान्वित भएका छन् । यो अवधिमा बीमा कम्पनीहरुले ४ सय ७५ वटा दाबी बीमालेखको ९ करोड ११ लाख एक हजार ८४८ रुपैयाँ दावी भुक्तानी गरिसकेका छन् । 

दाबी भुक्तानीमा ९७ प्रतिशत हिस्सा शिखर इन्स्योरेन्सको

गत वर्ष र चालु आर्थिक वर्षको पहिलो चार महिनामा कृषि बीमालेखमा दावी भुक्तानी हुने रकमको ९७ प्रतिशत हिस्सा शिखर इन्स्योरेन्सले भुक्तानी गरेको छ । गत वर्ष कृषि बीमालेखमा कुल ७० करोड बढी रकम दाबी भुक्तानी भएकोमा त्यसको ९७.१० प्रतिशतले हुने आउने रकम ६८ करोड २२ लाख ५२ हजार रुपैयाँ शिखर इन्स्योरेन्स एक्लैले भुक्तानी गरेको छ । यसले समीक्षा अवधिमा ४ हजार ८ सय ५० बीमालेखको दावी भुक्तानी गरेको हो । 

त्यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात साउनदेखि कार्तिकसम्म यो कम्पनीले ४३८ बीमालेखको ८ करोड ८४ लाख ६५ हजार रुपैयाँ बढी दावी भुक्तानी गरेको छ । यो रकम कुल भुक्तानी रकमको ९७.०३ प्रतिशत हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved