
उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी फुटेको छ। पार्टीका नेता अशोक राई नेतृत्वको समूहले उपेन्द्र यादवबाट छुट्टिएर नयाँ दल 'जनता समाजवादी पार्टी' दर्ता गर्न निर्वाचन आयोगमा आइतबार निवेदन दिएका छन्।
नयाँ दल 'जनता समाजवादी पार्टी' को महासचिवको जिम्मेवारी पूर्वमन्त्री समेत रहेका मोहम्मद इस्तियाक राईलाई दिइएको छ। नयाँ पार्टी गठन भएको विषय अहिले नेपालको राजनीति वृत्तमा चर्चाको बिषय बनेको छ। केहिले नयाँ सत्ता समिकरणको लागि पार्टी फुटेको प्रतिक्रिया दिएका छन् भने कसैले बलियो बार्गेनिङ्ग बनाएर नेकपा एमालेमा जानलाई 'जनता समाजवादी पार्टी' बनेको आशंका गरेका छन्। जसपा फुट्नुको कारणबारे बिजपाटीले महासचिव मोहम्मद इस्तियाक राईसँग कुराकानी गरेको छ।
उपेन्द्र यादवबाट छुट्टिएर नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता किन आइपर्यो ?
नयाँ पार्टी गठन हुनुमा जम्माजम्मी दुईटा कारण छन्। एउटा, उपेन्द्र यादबको हैकम तोड्न। अर्को, अहिलेको अस्थिर सरकारलाई स्थिरता दिएर प्राप्त राजनीति उपलब्धिलाई स्थायित्व दिन।
उपेन्द्र यादबको हालीमुहाली बढी भयो भन्न खोज्नु भएको हो ?
पक्कै पनि। उहाँले महन्थ ठाकुर, विजयकुमार गच्छदारदेखि जेपी गुप्ता र अशोक राईसम्म शीर्ष नेताहरुलाई पाखा लगाएर आफ्नो मनमर्जी तरिकाले पार्टी चलाउन थाल्नु भयो। अहिले पार्टी फुटको मुख्य कारण नै उहाँको हैकमबाद र पार्टीभित्रको हालीमुहाली नै हो।
१६ वर्षपछि महाधिवेशन गर्न खोज्ने तर कहिले अवैधानिक प्रक्रियाबाट मधेस प्रदेशका अध्यक्ष हटाइदिने कहिले विभिन्न जिल्ला अध्यक्ष हटाउने काम उहाँले गर्नुभयो। संगठित सदस्यता वितरण गर्ने सूचना तीन दिन अगाडी मात्र सार्वजनिक गर्ने अनि एकै दिनमा आफू अनुकूल महाधिवेशन प्रतिनिधि बनाउने काम गर्नुभयो।
सरकारलाई स्थिरता दिनलाई पनि पार्टी फुटाउनु पर्यो भन्नु भयो, स्थिरता कसरी आउँछ ?
महिना महिनामा केन्द्रमा सरकार परिवर्तन हुँदा त्यसको असर प्रदेश सरकारमा पनि देखियो। यसले लामो संघर्ष पश्चात प्राप्त संघियता, समावेशिता जस्ता महत्त्वपूर्ण उपलब्धी माथिनै खतरा बढ्यो। त्यहि भएर बाध्य भएर यो कदम उठाउनु परेको हो। हाम्रो चाहना स्थिर सरकार पनि हो।
एमालेसँग एकता गरेरै सरकारलाई स्थिरता दिनुहुन्छ कि वर्तमान प्रचण्ड नेतृत्त्वको सरकारलाई साथ दिएर ?
हामि एमालेमा मिसिनलाई नयाँ पार्टी गठन गरेका होइनौं। एमालेमै जानुपर्थ्यो भने अहिले पार्टी गठन नगरी पनि जानलाई विकल्प थियो। तर हाम्रो चाहना भनेको अस्थिरता रोकेर हालको विद्यमान सरकारलाई अगाडि बढाउने हो। हामीहरुको ध्येय नै अहिलेको सरकार अघि जानुपर्छ भन्ने हो।
भनेपछि एमालेसँग मिसिनलाई अहिले पार्टी फुटाएको होइन ?
मिसाउन लागेको भए सोझै निवेदन दिने मिल्थ्यो र दिन्थ्यौं पनि। अहिले विद्यमान कानुनले पार्टी मिलाउन मिल्ने व्यवस्था गरेकै छ।
तपाईंहरुको नयाँ पार्टीमा केन्द्रीय समिति र संसदीय दलको बहुमत छ?
केन्द्रीय कार्यकारिणीको ८ जना छौं। केन्द्रीय सदस्य आधा भन्दा धेरै छौं। प्रतिनिधि सभा सांसद ७ जना छौं। राजनीतिक दलसम्बन्धी ऐनका केही धारा निष्क्रिय भयो। हामी राजनीतिक दलसम्बन्धी ऐनको नियमावलीअनुसार आयोग आयौं। पछिल्लो अध्यादेशको नियमावली जिवीत छ। त्योअनुसार दल विभाजनको निवेदन दिएका छौँ।
नयाँ दलमा कति पदाधिकारी रहन्छन्?
१५ जना पदाधिकारी राख्ने निर्णय भएको छ। संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, पार्टी अध्यक्ष अशोक राई हुनुहुन्छ। म महासचिव भएको छु।