राष्ट्रिय जीवन बीमा कम्पनीको आईपीओ बारे अर्थमन्त्रालय मौन, चुनौतीपूर्ण बन्दै लेखापरीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 03:01:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड संस्थानबाट कम्पनीमा परिणत भएको दुई महिना व्यतित भएको छ । बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम कम्पनीमा रुपान्तरण भएको थियो । 

यस कम्पनीलाई कात्तिक १६ गतेको बसेको मन्त्रिपरिषदको बैठकले विद्यमान पूँजीमा नै स‌ंस्थानबाट कम्पनीमा जाने स्वीकृती प्रदान गरेको थियो भने कात्तिक २० गते कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र पाएको थियो ।

कम्पनीमा परिणत भएको दुई महिना पुरा गर्नै लाग्दा कम्पनीले नियमित कार्यसँगै लामो समयदेखि हुन नसकेको लेखापरीक्षणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको जानकारी दिएको छ । कम्पनीका कायम मुकायम सिइओ महेश रिमाल अबको ६ महिनादेखि एक वर्षभित्रमा कम्पनीले लेखापरीक्षणको कार्य सकेर साधारणसभा सम्पन्न गर्ने बताउँछन् । 

हाल १८ करोड १० लाख चुक्तापूँजी रहेको कम्पनीले साधारणसभाबाट कम्पनीको चुक्तापूँजी ५ अर्ब पुर्याउने र जसमध्ये ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँको शेयर सर्वसाधारणका लागि जारी गर्ने योजनामा रहेको कामु सिइओ रिमाल बताउछन्। कम्पनीमा हाल संस्थापकतर्फ नेपाल सरकार अर्थमन्त्रालयका २७.७७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

हाल १८ करोड चुक्तापूँजी रहेको यस कम्पनीले एक वर्षको अवधिमा चुक्तापूँजी करिब २८ गुणाले बढाएर ५ अर्ब पुर्याउनु पर्नेछ । जसका लागि संस्थापकमध्ये नेपाल राष्ट्र बैंकबाट पूँजी वृद्धिको रकम प्राप्त भइसकेको सूचना अधिकारी भोलानाथ घिमिरे बताउँछन् । त्यस्तै अर्थमन्त्रालयले भने यस विषयमा कुनै औपचारिक निर्णय नगरेको स्रोत बताउँछ । स्रोतका अनुसार अर्थमन्त्रालयले जीवन बीमा कम्पनीमा थप पूँजी दिन आनाकानी गरिरहेको छ । यद्यपी, आर्थिक वर्षको बजेटमार्फत कम्पनीका लागि बजेट व्यवस्थापन गर्न सकिने जवाफ अर्थमन्त्रालयले कम्पनीलाई दिएको बताइन्छ ।

एघार वर्षयता साधारणसभा गर्न नसकेको यस कम्पनी (तत्कालिन संस्थान) अहिले लेखापरीक्षणको दौरानमा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०६८/६९ यता साधारणसभा गर्न सकेको छैन् । आर्थिक वर्ष २०६८/७९ देखि २०७३/७४ को लेखापरीक्षणको कार्य सकाएर स्वीकृतिका लागि नियामक निकाय बीमा प्राधीकरणमा पेश गरेको सुचना अधिकारी घिमिरे बताउँछन् । त्यस्तै त्यस यताका आर्थिक वर्षको लेखापरीक्षणको कार्य पनि अगाडि बढिसकेको उनको भनाई छ ।  

त्यस्तै नियामक निकाय नेपाल बीमा प्राधिकरणले विभिन्न ६ शर्तसहित कम्पनीमा रुपान्तरणको स्वीृकति दिएको थियो । जसमा बीमा ऐन बमोजिम पूँजी वृद्धि गर्नुपर्ने, सर्वसाधारणलाई ३० प्रतिशत शेयर जारी गर्नुपर्ने लगायत यसअघिको लेखापरीक्षण गराएर ६ महिनाभित्र पेश गर्न समेत भनिएको छ ।

प्राधीकरणले छ महिनाको समयावधि तोकेर लेखापरीक्षण गर्न भनेपनि कम्पनीलाई यो अवधिमा सबै लेखापरीक्षण सम्पन्न गर्न चुनौतीपूर्ण देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved