एनबि इन्स्योरेन्सलाई राम्रोसंग कारोबार गर्न सक्ने अवस्थामा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्थापित लगानीकर्ता अम्बिका प्रसाद पौडेलले अरुण फाइनान्सको जिम्मेवारी सम्हालेका छन। पौडेललाई फाइनान्सको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतले चयन गरिएको छ।
बिहीबार बसेको सञ्चालक समितिको वैठकले पौडेललाई सञ्चालकमा मनोनित गर्दै अध्यक्षमा चयन गरेको हो। पौडेल एनबि इन्स्योरेन्सको अध्यक्षको जिम्मेवारी छोडेर अर्को समस्याग्रस्त अरुण फाइनान्सको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन।
नेपाल राष्ट्र बैंकबाट २०७१ माघमा समस्याग्रस्त घोषणा गरिएको अरुण फाइनान्समा हाथवे इन्भेष्टमेन्टको प्रमुख लगानीकर्ताको रुपमा प्रवेश गरेपछि फाइनान्सको वित्तीय अवस्था राम्रो लयमा फर्किएको छ। सम्भवत: साता दिनभित्र समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट अरुण फाइनान्स हटाइनेछ।
राष्ट्र बैंकबाट समस्याग्रस्त वित्तीय संस्थाबाट हटेपछि पुंजी वृद्धिको योजना अघि बढ्ने जनाइएको छ। समस्याग्रस्त अवस्थामा फाइनान्सको चुक्ता पुंजी १५ करोड रुपैयाँ रहेको थियो। अहिले फाइनान्सको चुक्ता पुंजी ३० करोड पुर्याइएको छ। यसमा साधारण लगानीकर्ताको ६ करोड समावेश नगरिएको जनाइएको छ।
समस्याग्रस्त अवस्थामा फाइनान्सको निक्षेप १५ करोड ११ लाख र कर्जा १४ करोड १७ लाख रुपैयाँ रहेको थियो । जसको निस्कृय कर्जा नै ८१ प्रतिशत रहेको थियो । नयाँ लगानीकर्ताको प्रवेशसंगै फाइनान्समा १ बर्षको अवधिमा ९ करोड ४७ लाख रुपैयाँ निक्षेप फिर्ता भैसकेको छ।
केहि समस्याग्रस्त तथा राम्रा संस्थासंग समेत मर्जरको कुरा अघि बढेको बताइएको छ। मर्जर प्रक्रिया सफल हुन नसकेको अवस्थामा हकप्रद बिक्रि गरि चुक्ता पुंजी ८० करोड पुर्याउने लक्ष्य रहेको जनाइएको छ।