अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन्
२०२२ मा नेपालको आर्थिक बृद्दीदर चार दशमलव दुई प्रतिशत रहने प्रक्षेपण सार्वजनिक
गरेको छ ।
यसैसाता ‘वर्ल्ड
इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै
आइएमएफले आर्थिक वृद्धिदरको सुरुवाती अनुमानमा संशोधन गरेको हो । गत जनवरीमा
आइएमएफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव एक प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।
आइएमएफले सन्
२०२३ मा भने नेपालको आर्थिक वृद्धिदर घट्ने अनुमान गरेको छ । आइएमएफले गत जनवरीमा
गरेको प्रक्षेपणअनुसार आगामी वर्ष नेपालले छ दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर
हासिल गर्ने अनुमान गरिएको थियो । तर हाल उक्त प्रक्षेपणलाई घटाएर पाँच प्रतिशत
सीमित गरिएको छ । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि आठ प्रतिशतको आर्थिक
वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै
आइएमएफले मूल्यवृद्धिको यसअघिको अनुमान पनि संशोधन गरेको छ । मुद्रास्फीति सन्
२०२२ मा छ दशमलव तीन प्रतिशत र सन् २०२३ मा सात दशमलव ७ प्रतिशत रहने आइएमएफको
सुरुवाती अनुमान थियो । तर अहिले त्यसलाई संशोधन गर्दै २०२२ मा आठ दशमलव एक
प्रतिशत र २०२३ मा सात दशमलव दुई प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
चालु आर्थिक
वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र
राख्ने प्रक्षेपण गरेको छ ।
पछिल्लो समय
मुल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । कोभिड महामारी र
रुस-युक्रेनबीचको युद्दलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ ।
आइएमएफका अनुसार
विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२१ मा छ प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन
दशमलव दुई प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । त्यस्तै, २०२३ मा झन् खस्केर दुई दशमलव सात प्रतिशतमा झर्ने
अनुमान गरिएको छ । जुन पछिल्लो दुई दशकयताकै सुस्त हो ।
विश्व
मुद्रास्फीति दर यसवर्ष आठ दशमलव आठ प्रतिशत कायम हुने आइएमएफको अनुमान छ । सन्
२०२३ मा भने त्यो घटेर छ दशमलव पाँच प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।