
अरुण भ्याली हाइड्रोपावर कम्पनीले आज वैशाख १० गते देखि हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको छ । कम्पनीले हकप्रदमा अवितरित १९ लाख ९२ हजार १ सय ३४ कित्ता शेयर लिलाममा ल्याएको हो ।
यस लिलामीको शेयरमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ। शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर दशमलवमा शेयरको लागि आवेदन दिन पाइने छैन । ५ लाख भन्दा बढी रकम आवेदन दिनेले अनिवार्य प्यान नम्बर उल्लेख गर्नु पर्ने छ ।
कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
कम्पनीले निष्काशन गरेको हकप्रद शेयर चैत्र २७ गते बाँडफाँड भएको हो । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको १:१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको थियो । हकप्रदमा ३३ हजार ७ सय १४ जनाले आवेदन दिएकोमा उनीहरुलाई कुल १ करोड ६६ लाख ८७ हजार ४ सय ९२ कित्ता शेयर बाँडफाँड गरिएको थियो। नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।