८ महिनामा यतीको मात्रै २ ठूला दुर्घटना, यसअघिको दुर्घटनाकै अध्ययन प्रतिवेदन ‘लुकाइयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 05:27:44 PM मा प्रकाशित

laxmi  sunrise bank

यती एयरलाइन्सको जहाज आज पोखरामा दुर्घटनामा पर्यो । आन्तरिक उडानतर्फ भएका दुर्घटनामध्ये आज भएको यतीको जहाज दुर्घटना इतिहासकै ठूलो दुर्घटना हो । 

यससँगै, नेपाली आकाशमा उड्ने आन्तरिक हवाई सेवा प्रदायक कम्पनीका जहाजको तुलनामा यतीका जहाज कमजोर देखिन थालेको छ । किनकी, आजभन्दा ८ महिना अगाडी मात्रै यतीकै भगिनी कम्पनी तारा एयरको जहाज पोखराबाट मुस्ताङ जाने क्रममा दुर्घटना भएको थियो । 

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको थियो । यतिसम्म की,  दुर्घटना भएको ७ महिना पश्चात अर्थात मंसिर अन्तिम साता मात्रै दुर्घटनाग्रस्त उक्त जहाजका भग्नावशेषहरु संकलन गरेर ल्याइएको थियो । 

ताराको उक्त विमान दुर्घटनामा चालक दलका १ सदस्य सहित २२ जनाले ज्यान गुमाएका थिए । विमान दुर्घटनापछि दुर्घटनाको कारण अध्ययन गर्न एउटा समिति बन्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने सदस्य थिए । 

यो समितिले अध्ययन सकेर आफ्नो प्रतिवेदन पनि बुझाइसक्यो । तर, उक्त प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन ।

फेरि उसैगरी आज पनि मन्त्रिपरिषद बैठकले यतीको जहाज दुर्घटनाबारे अध्ययन अनुसन्धान गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग बनायो । आयोगको सदस्यहरुमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई आयोगको सदस्य सचिव तोकिएको छ ।

आयोगलाई ४५ दिन भित्र आज भएको दुर्घटनाको कारण पहिचान गगरेर आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन गर्नुपर्ने काम लागि सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

तर, विगतमा भएका हवाई दुर्घटन पश्चात बन्ने अध्ययन समितिलाई हेर्ने हो भने यस्ता समितिहरु केवल ‘कर्मकाण्ड’ पूरा गर्न मात्रै बन्ने गरेको देखाउँछ । किनकी, विगतमा भएका हवाई जहाज दुर्घटना पश्चात बनेका समिति तथा आयोगका प्रतिवेदन सार्वजनिक नै नभएको इतिहास छ ।

वरिष्ठ क्याप्टेन केबी लिम्बू नेपाली आकाशमा बारम्बार विमान दुर्घटना हुनुमा प्राविधिक मात्र नभई नीतिगत कमजोरी पनि उत्तीकै रहेको बताउँछन् । 

१३ हजार ५ सय घण्टा जहाज उडाएका अनुभवी क्याप्टेन लिम्बुले नीतिगत कमजोरीका कारण पनि दुर्घटनादर बढ्दो क्रममा रहेको भन्नुले छानबिन र अध्ययनका नाममा बन्ने समिति र आयोगहरुले दिने सुझावहरु कार्यान्वयन भइरहेका छैनन् भन्ने देखाउँछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved