हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट बाहिर ल्याउने नेपालको प्रयास असफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 11:24:41 AM मा प्रकाशित

laxmi  sunrise bank

विगत १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई कालो सूचीमा राखेको युरोपेली यूनियन (ईयू) ले त्यसलाई अझै लम्ब्याउने भएको छ । यसले नेपाललाई आशाका बीच निरासा पैदा गरिदिएको छ । नेपालको अपेक्षामा विपरित ईयुले नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा यथावत राख्ने निर्णय गरेको हो ।

ईयूको ‘एभिएसन सेफ्टी लिस्ट’ (कालोसूची)बाट बाहिर निस्कने नेपालको प्रयास यस पटक पनि असफल भएको हो । त्यसको मुख्य कारण भने पोखरा दुर्घटना रहेको छ । 

ईयूले जुन ७ (जेठ २४) मा अपडेट गरेको विश्वका विभिन्न देश र ती देशका एयरलाइन्स कम्पनीहरुको सूचीमा नेपाललाई पनि कायमै राखेको छ । नेपाल सन् २०१३ देखि ईयूको कालोसूचीमा पर्दै आएको छ । 

मे र नोभेम्बर (वर्षमा २ पटक) मा बस्ने ईयू सेफ्टी काउन्सिल (सुरक्षा परिषद)को बैठकले कालोसूची ‘रिभ्यू’ गर्ने काम गर्छ । 

यसपाली मे महिनामा बसेको ईयू सेफ्टी काउन्सिलको बैठकले नेपाललाई कालोसूची मै दोहोर्याएको हो । अब नेपाल कम्तीमा आगामी नोभेम्बरसम्म कालोसूचीमा कायम भएको हो ।

पोखरा दुर्घटना मुख्य कारण

यसपाली नेपालले कालोसूचीबाट बाहिर निस्कन निकै प्रयास गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ईयूले नेपाललाई कालोसूचीबाट ‘आउट’ गर्ने अपेक्षा पनि गरेको थियो । गत नोभेम्बरमा भएको काउन्सिल बैठकले केही संकेत पनि देखाएको थियो ।

तर, गत माघ १ गते पोखरामा  यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि ईयूको कालोसूचीबाट तत्काल हट्ने सम्भावना टरेको थियो । त्यही दुर्घटनापछि ईयूले नेपालको स्थलगत भ्रमण रोकेको थियो । ईयूको टोली फेब्रुअरीमा नेपालको अनसाइट भिजिटमा आउने तय भइसकेको पनि थियो । तर, पोखरा दुर्घटनापछि ईयूको टोली नेपाल आउने कार्यक्रम रोकियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक जगन्नाथ निरौलाले पनि पोखरामा आन्तरिक उडानको सबैभन्दा ठूलो दुर्घटना हुनुले नै नेपाल यसपटक कालोसूचीबाट बाहिर निस्कन नसकेको बताएका छन् । पोखरामा यतीको जहाज दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।

ईयूको टोलीबाट अनसाइट भिजिट गराउने कसरत

क्यानले अहिले पनि ईयूसँग छलफल भने चलाइरहेको छ । साथै, आगामी नोभेम्बरमा हुने ईयूको सेफ्टी काउन्सिल बैठक अघि ईयूको टोलीलाई नेपाल झिकाएर ‘अनसाइट भिजिट’ गराउने तयारीमा क्यान छ । 

त्यसो त, ईयू मातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा) ले २०२२ को अक्टुबरमा नेपालको हवाई सुरक्षाबारे स्थलगत अध्ययन गरेको थियो । यसपछि पुनः अर्को टिमबाट नेपालको हवाई सुरक्षा सम्बन्धि फिल्ड भिजिट (अनसाइट भिजिट) हुने तयारी भइरहेका बेला पोखरामा यतीको जहाज दुर्घटना हुन पुुग्यो । यसपछि ईयूको उक्त भ्रमण रोकियो ।

१० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्र ईयूको कालोसूचीमा पर्दा युरोपियन युनियन भित्रका देशहरुबाट नेपालमा सिधा हवाई सम्पर्क हुन सकेको छैन । नेपाली एयरलाइन्स कम्पनीहरुले पनि ती देशहरुमा सिधा उडान गर्न पाएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved