हेलिकप्टर कम्पनीमा लगानी गरेका पाइलटले शेयर बेच्लान् की उडान छाड्लान् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 14, 2023 | 01:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्गलबार सोलुखुम्बुको लामजुरा डाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीमा लगानी गरेका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ । 

प्राधिकरणको प्रतिबन्धसँगै अब हेलिकप्टरमा लगानी गरेका ११ जना पाइलटले उडान भर्न पाउने छैनन् । नेपालका १२ वटा हेलिकप्टर कम्पनीमध्ये ८ वटामा पाइलटको समेत लगानी छ । सबैभन्दा धेरै पाइलटहरुले लगानी गरेको हेलिकप्टर कम्पनी हो सिम्रिक एयर । सिम्रिक एयरमा ३ जना पाइलटको सेयर छ । त्यस्तै प्रभु हेलिकप्टरमा २ जना क्याप्टेनले लगानी गरेका छन् । 

अल्टिच्यूड एयरमा १ जना, एयर डाइनेस्टीमा १ जना, मनाङ एयरमा १ जना र माउन्टेन हेलिकप्टरमा १ जना पाइलटले लगानी गरेका छन् । समिट हेलिकप्टर र कैलाश हेलिकप्टरमा पनि एकएक जना पाइलटको लगानी छ । 

लगानीकर्ता पाइलटले जहाज उडाउँदा दुर्घटना बढेको हो ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्गलबार सोलुखुम्बुमा दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर उडाउने पाइलट सीबी गुरुङ सोही कम्पनीको लगानीकर्तासमेत भएकाले दुर्घटना भएको हुन सक्ने निष्कर्ष निकाल्दै लगानीकर्ता पाइलटले हेलिकप्टर उडाउन नपाउने नियम बनाइदियो । गुरुङ मनाङ एयरको ‘सेफ्टी डिपार्ट’का प्रमुख थिए ।

एउटै व्यक्ति पाइलट पनि र व्यवस्थापकीय भूमिकामा पनि रहँदा कतिपय अवस्थामा नाफा केन्द्रित भइ जोखिम मोलेर हेलिकप्टर उडाउने आशङ्का देखिएकाले यस्तो नियम ल्याउनु परेको क्यान बताउँछ । उडान गर्न नपाएपछि ती पाइलटले शेयर बेच्लान् की उडान छाड्लान भन्ने सवाल उठेको छ ।

पाइलट लगानीकर्ता भएकै आधारमा दुर्घटना बढ्यो भन्नु गलतः एओएएन

हेलिकप्टर उडाउने पाइलटले लगानी गरेर व्यवसाय गरेकै कारण दुर्घटना हुने गरेका छन् भन्ने सन्देश दिन खोजिनु गलत भएको एयरलाइन्स अपरेटर्सहरु बताउँछन् । 

लगानीकर्ता पाइलटले उडाएकै कारण हेलिकप्टर दुर्घटना भइरहेका छन् भन्ने निष्कर्षमा पुगेर लगानीकर्ता पाइलटले हेलिकप्टर उडाउन नपाउने नियम ल्याइनु गलत भएको वायुसेवा सञ्चालक संघका एक जना पदाधिकारीले बताए ।

‘यसको छानबिन हुँदैछ, अनुसन्धान हुँदैछ, तर हतारोमा मनमा यस्तो हुन सक्छ भन्ने लागेकै आधारमा त्यही निष्कर्षमा पुगेर क्यानले नियम बनाउनु गलत छ’ एक जना पदाधिकारीले भने, ‘कम्पनीमा लगानी गरेका पाइलट साथीहरुले शेयर बेच्दा पनि बेच्नुहुन्न, जहाज उडाउन पनि छोड्नुहुन्न । अहिले तत्काललाई एक दुई दिन नियमअनुसार नपाउने भए पनि भोलि आफ्नो नामको शेयर श्रीमीत, छोराछोरीका नाममा गरेर आउनुहुन्छ, यो हचुवाको भरमा ल्याइएको नियम हो ।’

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले दुर्घटनाको मुख्य कारण खोज्नुको सट्टा लगानीकर्ता पाइलटलाई उडानमा प्रतिबन्ध लगाउने कुरा जायज नभएको बताए । 

‘पाइलट शेयर होल्डर हुँदा हेलिकोप्टर दुर्घटना बढे, पाइलटको शेयर नभएपछि दुर्घटना हुँदैन भन्ने कुरा गलत हो’ उनले भने, ‘शेयर र दुर्घटनाको कुनै साइनो सम्बन्ध नै हुँदैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved