नेपाल राष्ट्र बैंकले ५० रुपैया अंकित दरका २३ करोड नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने राष्ट्र बैकले जनाएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार इच्छुक कम्पनीले आगामी फागुन ६ गतेभित्र बोलपत्र खरिद गरिसक्नुपर्ने छ । यसका लागि २० हजार रुपैयाँ लाग्ने छ भने यो रकम फिर्ता हुँदैन । फागुन ६ भित्र बोलपत्र पेस गरिसक्नुपर्ने र त्यसपछि प्राप्त बोलपत्र स्वीकृति हुने छैन।
बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने छ । बोलपत्र खोलिएको १ सय २० दिनसम्म म्याद रहने र यसका लागि १ करोड ४० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्नेछ।
बोलपत्रअनुसार २३ करोड थान ५० दरका नोटको मूल्य ११ अर्ब ५० करोड रुपैयाँबराबर हुने विभागले जनाएको छ। नेपालमा नोट छाप्ने ‘सेक्युरिटी प्रेस मेसिन’ नभएका कारण केन्द्रीय बैंकले विदेशबाट नोट छपाउँदै आएको छ । यसबाट ठूलो परिमाणबराबरको रकम विदेशिने गरेको छ । सेक्युरिटी प्रेसले कागजी नोटमात्र नभई बैंक चेक, राहदानीलगायत छाप्ने गर्छ ।