किन अढाई वर्षदेखि अड्कियो स्वस्तिक र समाज लघुवित्तको मर्जर प्रक्रिया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 07:47:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक र समाज लघुवित्तबीच मर्जर सम्झौता भएको अढाई वर्ष वितिसक्दा पनि प्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन। २०७७ साल असोज ५ गते दुवै संस्थाबीच समान स्वाप अनुपातमा मर्जर सम्झौता भए पनि अढाई वर्ष बित्दासमेत मर्जर हुने नहुने कुनै टुंगो लाग्न नसकेको हो। 

दुवै लघुवित्तले एक अर्काका कारण मर्जर हुन नसकेको आरोप लगाउँदै आएका छन् र दुवैले एक अर्कालाई आरोप नै लगाएर राष्ट्र बैंकमा समेत रिपोर्ट गरिरहेका छन्। तर दुवै लघुवित्तबीचको मर्जर अड्किदा एकातर्फ सर्वसाधारणले आफ्नो सेयर कारोबार गर्न पाएका छैनन् भने अर्कोतर्फ बढ्दो अन्यौलताले कर्मचारीको कार्यशैली लघुवित्तकै  प्रगतिमा नकारात्मक प्रभाव परेको छ। 

समाजले मर्जर सम्झौता गरेको झन्डै एक वर्षपछि स्वस्तिकसँग मर्जरमा जान नसकिने निर्णय बिशेष साधारणसभाबाट गराएर डिमर्जको लागि नेपाल राष्ट्र बैंकलाई चिठी लेखेको थियो। तर यस विषयबारे स्वस्तिक लघुवित्तलाई कहीं कतै पनि जानकारी नभएको स्वस्तिक लघुवित्तका उच्च पदस्थले बिजपाटीलाई बताए। 

संयुक्त मर्जर कमिटिका संयोजक तथा स्वस्तित्क लघुवित्तका संचालक शुधामु शेखर झाका अनुसार समाज लघुवित्तले संयुक्त मर्जर कमिटीमा कुनै जानकारी नगराई राष्ट्र बैंक समक्ष डिमर्जका लागि अनुरोध गर्दै पत्रचार गरेको बताए। 

स्वस्तिकको निवेदन पश्चात नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तको प्रमुख कार्यकारीसहितको टिमलाई डाकेर गरेको छलफलबाट दुवै पक्ष मिल्न समेत तयार भए। जस कारण समाज लघुवित्तले २०७९ साउन ६ गते विशेष साधारणसभा डाकेर सर्वसम्मतबाट स्वस्तित्क लघुवित्तसँग मर्जरमा जाने निर्णय गरे। 

त्यस पश्चात मर्जर प्रक्रियाका बाँकी थप काम अगाडि बढ्दै थियो तर ५ महिना पनि काम गर्न नपाउदै २०७९ मङ्सिरमा समाजले डिमर्जको माग राख्दै नेपाल राष्ट्र बैंकमा उजुरी दियो। र लगत्तै पुष महिनामा स्वस्तिकले पनि डीमर्जको माग राख्दै राष्ट्र बैंकमा उजुरी दियो। त्यसयता भने मर्ज हुने वा नहुने भन्नेबारे कुनै निर्णय हुन सकेको छैन। दुवै संस्थाका प्रमुख कार्यकारी र लघुवित्त सुपरिवेक्षण विभागका कर्मचारीबीच त्यसयता एक पटक मात्र निष्कर्षविहीन छलफल भएको छ। राष्ट्र बैंकले सकेसम्म मर्जरमा जानलाई सुझाव दिंदै सकेसम्म चैत १७ सम्म मिलेर आउँनलाई भनेको थियो। 

मर्जर पश्चात बन्ने लघुवित्तको  केन्द्रिय आर्यालय बर्दिबास हुनेबारे दुवै पक्षको सहमत रहे पनि यही विषयमा सहमति नजुट्दा मर्जर टुट्ने अवस्थामा पुगेको स्रोतको दाबी छ। तर स्वस्तिक लघुवित्तले यो विषयबारे आफूलाई कहिंकतै समाज लघुवित्त ले आरोप नलगाएको स्वस्तिकका कर्मचारी बताउँछन्। समाज लघुवित्तको केन्द्रिय कार्यलय बर्दिबास रहेको छ भने स्वस्तिक लघुवित्तको केन्द्रिय कार्यालय सिराहामा रहेको छ। 

केन्द्रिय कार्यालय वा अन्य कुरामा कुरा नमिलेको देखाईए पनि वास्तवमा मर्जर नहुनुको मुख्य कुरा मर्जर पश्चात बन्ने लघुवित्तको सेयर संरचनामा  'कल इन एड्भान्स' को कारण स्वस्तिक हाबी हुन सक्ने अवस्था रहेको खुल्न आएको छ। 

अहिले दुवै संस्थाको चुक्तापूँजी २-२ करोड रहेको छ।  तर स्वस्तिकको कल इन एड्भान्सको रकम पूँजीकृत गर्दा स्वस्तिकको सेयर स्वामित्व बढी हुन जानेछ। कुनै बेला राष्ट्र बैंकले चुक्तापूँजी वृद्धि गर्नका लागि निर्देशन दिँदा स्वस्तिकले आफ्ना सेयरधनीबाट एक बराबर दुई कित्ताका दरले पूँजी सङ्कलन गरेको थियो। तर पछि राष्ट्र बैंकले हकप्रद रोकेपछि उक्त पैसा कल इन एडभान्समा रहेकाले अब उक्त पैसा पूँजीकृत गर्दा संस्थापकको २ करोड ४० लाखले स्वस्तिकको बढी हुनेछ। स्वस्तिकले ८० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न अझैं बाँकी छ। 

मर्जर पश्चात बन्ने संरचनामा कल इन एड्भान्सबाट आउने पैसाको कारणले सेयर संचरनामा स्वस्तिक हाबी हुने भएकाले समाजले मर्जर नचाहेको हुन सक्ने स्वस्तिकका सेयरधनीको बुझाई छ। यता मर्जर टुङ्गोमा नपुग्दा स्वस्तिक भन्दा समाज लघुवित्त बढी अप्ठ्यारोमा परेको देखिन्छ। एकातर्फ मर्जर पश्चात बन्ने लघुवित्तको सेयर संरचनामा स्वस्तिक हाबी हुने डर त समाजलाई छँदै थियो। त्यसमा मर्जरमा गएका कारण उसले वितरण गरेको आइपीओ नेपाल स्टक एक्सचेन्ज 'नेप्से' मा सुचिकृत हुन नसकेर कारोबारमा नआउँदा आम सर्वसाधारणबाट आलोचना खेप्नुपरेको छ।  

आफूहरुको नाफामा स्वस्तिकले आँखा लगाएकाले पनि आफूहरुले डिमर्ज रोजेको समाज लघुवित्तका उच्च पदस्थले बिजपाटीलाई बताए। उनि भन्छन, 'हामी नाफामा छौं, साथीहरु (स्वस्तिकका सेयरधनी) ले मर्जर सम्झौता अढाई वर्ष अगाडि भएको भन्दै समाजको नाफामा भाग खोज्नु हुन्छ, डिमर्जको कारण यो पनि हो।'

यता नेपाल राष्ट्र बैक भने अहिलेपनि दुवै लघुवित्तबीच मर्जर भैदिए हुन्थ्यो भन्ने चाहन्छ। दुवै लघुवित्त सकेसम्म शान्तिपूर्वक मर्जर प्रकृया सकेर एकीकृत कारोबारमा लागे हुन्थ्यो भन्ने चाहना नेपाल राष्ट्र बैकको भएको राष्ट्र बैंकले जनाएको छ। 

नेपाल राष्ट्र्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन बिभागका विभागीय प्रमुख तथा राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट पनि राष्ट्र बैंक दुवै लघुवित्त मर्जरमा जाउँन भन्ने चाहेको बताउँछन। 

उनि भन्छन, 'हामीले सकेसम्म मर्जरमा नै जानुस् भनेको हो, वहाँहरु दुवै डिमर्जमा जानलाई आतुर जस्तो देखिनुहुन्छ। अब छलफल गरेर के गर्ने भनेर आउनुस् भनेका छौ, डिमर्जमा जाँदा तोकिएको कारवाही हुन्छ पनि भनेका छौ। अब के गर्नु हुन्छ उहाँहरुको कुरा हो , हामी त्यहि अनुसार स्वीकृति दिन्छौ'

दुवै संस्थाबीच समान स्वाप अनुपात हुने, स्वस्तिकले अध्यक्ष पाउने, समाजले प्रमुख कार्यकारी अधिकृत पाउने, दुवै संस्थाबाट समान २-२ जना सञ्चालक रहने र  केन्द्रिय कार्यलय बर्दिबासमा हुने सहमति भएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved