नेपालका बाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण लिन पाउने बाटो खुला भएको छ। राष्ट्र बैंकले पुष १० गते एक निर्देशिका जारि गरि बाणिज्य बैंकहरुलाई सर्तसहित भारतीय मुद्रामा ऋण लिन पाउने बाटो खुला गरेको हो।
राष्ट्र बैंकले जारि गरेको निर्देशिका अनुसार बाणिज्य बैंकहरुले भारतीय मुद्रामा ऋण लिन राष्ट्र बैंकले तोकेका बिभिन्न सर्तहरु पालना गर्नुपर्नेछ। राष्ट्र बैंकले तोके बमोजिमको पुंजीकोष कायम गरेका बैंकहरुले मात्र यस्तो ऋण लिन पाउनेछन।
बैंकहरुले आफुहरुले चाहेजति ऋण लिन र आफूखुसी लगानी गर्न भने पाउनेछैनन। बैंकहरुले आफ्नो प्राथमिक पुंजीको ५० प्रतिशतसम्म भारुमा ऋण लिन पाउनेछन। तर अन्य मुद्रामा लिएको ऋण भए त्यो समेत ५० प्रतिशतमा गणना हुनेछ।
भारुमा लिएको ऋण राष्ट्र बैंकले तोकेका क्षेत्रहरुमा मात्र कर्जा दिन पाइनेछ। यस्तो ऋण बैंकहरुले नविकरणीय उर्जा (जलबिद्युत, सौर्य उर्जा, वायु उर्जा) , उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुंगमार्ग, विमानस्थल, केबलकार, पूल जस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्ग्गा जस्ता रियल स्टेटको क्षेत्र बाहेक), बिदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र, लघुवित्त क्षेत्र मा कर्जा प्रवाह गर्न पाउनेछन।
नेपालको आर्थिक समृद्धिका लागि नेपालको पुंजी मात्र पर्याप्त नभएको भन्दै सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत भारतीय मुद्रामा पनि ऋण लिन सकिने व्यवस्था गरेको थियो।